राष्ट्रिय सभामा पुग्न कांग्रेसका ५०० बढी नेताको मारामार !
कर्णालीमा १ सिटका लागि ९१ र गण्डकीमा १७८ आकांक्षी
काठमाडौं, ११ पुस । आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल सहित निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलहरूले आफ्ना उम्मेदवार सिफारिस गर्न थालेका छन् ।
फागुन २० पछि खाली हुने १९ सिटमा निर्वाचन हुन लागेको हो। यसैगरी राष्ट्रपतिबाट मनोनीत १ सिट पनि खाली हुनेछ। यसमा सत्ता गठबन्धनले भागबन्डा गरेर उम्मेदवारी दिने लगभग पक्का छ भने प्रतिपक्षी एमालेले एक्लै उम्मेदवारी दिने तयारी छ।यद्यपि सत्तामा नरहेका दलको समर्थन जुटाउन एमाले पनि लागेको देखिन्छ।
यसपटकको निर्वाचनमा गठबन्धनमा भागबन्डा गर्दा बढीमा ९ सिट पाउने नेपाली कांग्रेसले सबै प्रदेशबाट उम्मेदवार सिफारिस गरेको छ। तर,९ सिट पाउने भएपनी झन्डै ५०० जनाको नाम सिफारिस भएको स्रोतले बतायो। जसमा तीन दर्जन केन्द्रिय नेता मात्रै छन् । पार्टी पदाधिकारी भैसकेका पुर्व मन्त्री,सांसद र राजनीतिक नियुक्ति लिएर लाभको पद पाइसकेका पनि उम्मेदवार सिफारिसमा पुनः परेका छन् ।
उम्मेदवार सिफारिसमा परेका मध्य पुर्व महामन्त्री कृष्ण सिटौला,तारानाथ रानाभाटदेखि पुर्व उपसभापति गोपालमान श्रेष्ठ र पुर्व मुख्यमन्त्री समेत रहेका कृष्णचन्द्र नेपाली र राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष गोविन्द पोख्रेल सम्म पनि छन् । त्यसैगरी पुर्व मन्त्रीहरु कोशीबाट सिटौलासङ्गै पुर्व अर्थमन्त्री महेश आचार्य,डा.मिनेन्द्र रिजाल र पुर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइराला पुत्री सुजाता कोइराला समेत सिफारिसमा परेका छन् ।
यता बागमती प्रदेशबाट केन्द्रिय नेताहरू जिपछिरिङ लामा,गणेश लामा,जित जंग बस्नेत,मदन अमात्य,दिलमान पाख्रीन,टेकबहादुर गुरुङ लगायत कलाकार नीर शाह र पत्रकार महासंघका पुर्व सभापति तारानाथ दाहाल समेत सिफारिसमा परेका छन्। यसैगरी राधा घले,जीवन डङ्गोल,राजु श्रेष्ठ लगायत ९३ जना सिफारिसमा परेका छन ।
उता गण्डकी प्रदेशबाट पुर्व उपसभापति गोपालमान श्रेष्ठ,पुर्व महामन्त्री एवं पुर्व सभामुख तारानाथ रानाभाट,गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री कृष्ण चन्द्र नेपालीदेखि पुर्व मन्त्रीहरु यज्ञ बहादुर थापा,रोमि गौचन थकाली सहित १७८ जना सिफारिस भएका छन् । त्यसैगरी लुम्बिनीबाट राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष डा.गोविन्द पोखरेल र पुर्व उपसभामुख पुष्पा भुषाल,चन्द्र केसी,भरत शाह समेत सिफारिसमा छन्।
कोशीबाट केन्द्रीय नेताहरु सिटौला, डा. मिनेन्द्र रिजाल, डा.डिला संग्रौला, सुजाता कोइराला, तारामान गुरुङ, उमेशजंग रायमाझी, आङ्गेलु शेर्पा र रुक्मिणी कोइराला सहित ६३ जनाको नाम सिफारिस भएको छ । नेताहरु पुर्व अर्थमन्त्री महेश आचार्य र गत निर्वाचनमा प्रदेश सभामा पराजित गुरुराज घिमिरे सहित ओखलढुंगाका नेता खिलनाथ दाहालको नाम पनि सिफारिस गरिएको छ ।
उता कर्णालीबाट केन्द्रीय सदस्य मानबहादुर नेपाली सहित प्रदेश सभापतिमा पराजित भूपेन्द्रजंग शाही लगायत ९१ जनाको नाम प्रदेश समितिले सिफारिस गरेको छ ।

