कांग्रेस कोशीबाट राष्ट्रिय सभा उम्मेदवार ३ को ठाउँमा ६३ जना सिफारिस !

काठमाडौं, ११ पुस । नेपाली कांग्रेस कोशी प्रदेश समितिले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागी आकांक्षीको नाम सिफारिस गरेको छ।
प्रदेश कार्यालय विराटनगरमा बसेको बैठकले गत बर्षको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका नेतालाई समेत प्राथमिकताक्रममा राखेर राष्ट्रियसभा निर्वाचनका लागि नाम सिफारिस गरेको देखिएको छ।
राष्ट्रिय सभा निर्वाचनका लागि पुर्व महामन्त्री एवं गत निर्वाचनमा पराजित झापाका कृष्ण प्रसाद सिटौला र मोरङबाट स्व. गिरिजा प्रसाद कोइराला पुत्री सुजाता कोइरालाको नाम उच्च प्राथमिकतामा राखेर सिफारिस भएको छ।
कांग्रेस प्रदेश समितिले जिल्लाबाट आएका नामलाई क्रमैसँग राखेर केन्द्रीय कार्यसमितिमा सिफारिस गरेको जनाएको भएपनी यसमा धेरै जसो नाम निर्वाचन पराजित र पुर्व मन्त्री समेत भएका र पटकपटक अवसर पाएका कै बढी छ। तर,पार्टीमा कुनै अवसर नपाएकालाई र नयाँलाई उम्मेदवार बनाउनुपर्ने कुरा उठेपनी प्रदेश समितिले त्यसो गर्न सकेको देखिदैन । सिफारिस गरिएको नाम मध्य २०४८ का अर्थ मन्त्री महेश आचार्य र पुर्व संचारमन्त्री डा.मिनेन्द्र रिजाल पनि छन् । त्यसैगरी गत निर्वाचनमा प्रदेश सभामा पराजित गुरु घिमिरे पनि सिफारिसमा परेका छन् ।
पार्टी भित्र सभापति शेरबहादुर देउवा र डा.शेखर कोइराला पक्षको उम्मेदवार मिलाउन खोजिए पनि सिफारिस गर्दा यी दुबै खेमा बाहेक आफ्नै गुट चलाउदै आएका पुर्व मन्त्री सिटौलालाई प्राथमिकतामा राख्नुमा सभापति देउवाकै चाहना भएको बुझिन्छ।
डा.कोइराला पक्षमा रहेका डा.मिनेन्द्र रिजाल,गुरु घिमिरेलाई पनि सिफारिसमा राख्नु र कोइराला पक्षमै भएपनी महाधिवेशनमा दाजु शेखर कोइराला हराउ अभियानमा रहेकी सुजाता कोइरालाको नाम समेत सिफारिस हुनु भनेको सबैलाई जुधाएर सिटौलाको पक्षमा निर्णय गराउन देउवाकै योजनामा ६३ जनाको नाम सिफारिस भएको बुझिन्छ।
पार्टी केन्द्रले तीनजनाको नाम मागेकोमा प्रदेश कार्यसमितिले ६३ जनाको नाम सिफारिस गरेको छ। सिफारिस गरिएको नाम अनुसार पहिलो नम्बरमा सिटौला नै छन् । त्यसैगरी महिला तर्फ भनेर पहिलो नम्बर सुजाता कै देखिन्छ। यद्यपि महिलामा डा.डिला सङ्रौला र रुक्मिणी कोइरालाको नाम पनि समावेश छ। यसैगरी गुरु घिमिरे,उमेश जंग रायमाझी,तारामान गुरुङ,टङ्क राई र गिरिराज आचार्य पनि सिफारिसमा परेका छन् ।
स्रोतका अनुसार जे जति नाम सिफारिस भएपनी देउवाको जोडबल कृष्ण सिटौला तिरै छ भने शेखर कोइराला पक्षले डा. मिनेन्द्र रिजाललाई उम्मेदवार बनाउने देखिन्छ। यद्यपि यो कोइराला पक्षले पाउने भागबन्डामा मिनेन्द्र पर्ने संभावना कम छ।
कांग्रेसले पाउने अधिकतम सिट मध्य भागबन्डामा कोइराला पक्षले ३ सिट पाउने देखिन्छ। त्यसमा कोइराला पक्षले कोशीमा नपाउन सक्छ। कोशीबाट सिटौला नै मुख्य दाबेदार हुन। उनलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने गरि सभापति देउवाले तयारी गरेको बुझिएको छ।

