प्रधानमन्त्री प्रचण्डलाई नागरिक अभिनन्दन गरिने
ज्यापु विकास कोषमा १० करोड निकासा हुने !
काठमाडौ,६पुस। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काठमाडौको ज्यापू संस्कृति विकास कोषले नागरिक अभिनन्दन गर्ने भएको छ ।
यहि पुस १० गते राष्ट्रिय ज्यापू दिवसको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डलाई बसन्तपुरमा एक कार्यक्रमबीच नागरिक अभिनन्दन गर्न लागेको व्यहोरासहित बालुवाटारमा झाँकीसहित गएका कोषका पदाधिकारीले निमन्त्रणा पत्र दिएका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डलाई राजनीतिक राज्यव्यवस्था परिवर्तन गर्दै समृद्धि, सुशासन, सामाजिक न्याय, समाजवाद उन्मुख लोकतन्त्र र सङ्घीयतालाई व्यावहारिक रुपमा लागू गरेको, नेपाल सम्वतलाई सरकारी दस्तावेजमा उल्लेख गर्न र बागमती प्रदेशमा नेपालभाषा र तामाङ भाषालाई मान्यता दिन अभिभावकीय भूमिका निर्वाह गरेकाले सो नागरिक अभिनन्दन गर्न लागेको कोषका उपाध्यक्ष सन्तकुमार महर्जनले जानकारी दिए ।
निमन्त्रणा पत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले संस्कृतिमा धनी काठमाडौँ उपत्यका आदिवासी ज्यापू जातिको संस्कृति, सङ्गीत बाजाजागा, रीतिरिवाज, रहनसहनलगायत सामाजिक, सांस्कृतिक उत्थानको लागि सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।निमन्त्रणा पत्र बुझेपछि प्रधानमन्त्री प्रचण्डले भने, ‘सङ्घीयता, लोकतन्त्र र गणतन्त्रप्रति बेला एकथरीले अनावश्यक रुपमा प्रहार गर्ने दुस्साहस गरेको बेला काठमाडौँका नेवार समुदायले सरकारले गरेका निर्णयलाई स्वागत गरेर अभिनन्दन गर्ने निर्णय गरेकोमा धन्यवाद दिन चाहन्छु ।’
उनले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अक्षय कोषको लागि प्रदान गरेको रु १० करोड निकासा गर्ने बताउँदै नेपाली जनताले सरकारले गरेका राम्रा काममा समर्थन गरिरहेको पनि जानकारी गराए ।

