सरकारी र निजी विद्यालयबारे…
ताराप्रसाद पोख्रेल
हाम्रो इटहरी उपमहानगर पनि शिक्षाको हब हो । हाम्रो इटहरीमा पनि धेरै निजी एवम् सामुदायिक विद्यालय, कलेजहरु छन । सामुदायिक विद्यालय र कलेजको स्तर गिर्दो छ । निजि विद्यालय र कलेजहरुले लुट मच्चाइरहेका छ्न ।
शिक्षा देशको मानव संसाधनको विकासको लागि एउटा हतियार हो । यो तरबारको धार भन्दा ज्यादै धारिलो हुन्छ र धारिलो बनाउनु पर्छ । पहिले निजी स्तरका शैक्षिक संस्था थिएनन् । शिक्षा र स्वास्थ जनताको मौलिक अधिकार हो भनिए पनि यसैलाई व्यापारीकरण गरियो र यसैमा डरलाग्दा माफियाहरुको उदय भयो । पछि गएर देशमा दुई तरिकाबाट शिक्षा दिन सुरु गरियो, सरकारी र निजी । सरकारी विद्यालय सरकारी स्तरबाट देशका सबै नागरिकले सहज रुपमा बिना भेदभाव नाफा रहित शिक्षा पाउन भन्ने उदेस्य राखेर स्थापना गरियो भने निजि विद्यालयको उदेश्य शिक्षा त दिने तर विभिन्न बाहानामा नाफाको उदेश्य राखेर खोलिए ।
पहिलेपहिले निजि विद्यालय थिएनन् । पछि सरकारले निजि क्षेत्रलाई पनि शिक्षा दिन विद्यालय खोल्न अनुमति दियो । पहिले सरकारी विद्यालय पनि सशुल्क थियो पछि गएर १० कक्षासम्म पुर्ण निःशुल्क गरियो । निःशुल्क पढ्न पाउँदा पनि सरकारी नीतिको कारण र विस्तारै विस्तारै पछिल्लो समयमा सरकारी स्कुलको लापरबाहीका कारण र सरकार चलाउने सासकहरुले सरकारी विद्यालयलाई पढाइमा कमजोर बनाउन सक्षम शिक्षक नियुक्ति नगरी राजनीतिमा शिक्षक लागेर आधा समय पनि पढाइ नभएपछि विद्यार्थीहरु कमजोर हुने र परिक्षामा असफल बनाउने निरन्तरता दिई आवश्यक पाठ्यपुस्तक समयमा नपुग्ने बनाउने सोच बनाइ जानीजानी धराशायी बनाए ।
सरकारी विद्यालयमा विद्यार्थी र शिक्षकको अनुपात मिलाइएन । माफियालाइ पोष्ने काम सुरु गरियो । कुनै स्कुलमा ५०/६० विद्यार्थी हुदा पनि ४/५ जना शिक्षक भए भने कुनै विद्यालयमा धेरै विद्यार्थी हुँदा पनि थोरै शिक्षकले पढाउँदा विद्यार्थी माथि शिक्षकको पहुँच नपुगेर विद्यार्थी कमजोर भइ असफल भएर अभिभावकमा सरकारी विद्यालय काम नलाग्ने भन्ने भान पर्यो । जनतामा सरकारी विद्यालयको विश्वसनियतामा शंका लाग्यो । यो क्रम तीव्र रुपमा अघि बढ्यो । कतिपय सरकारी विद्यालय खाली हुन थाले । कोहि विद्यालयमा एउटा विद्यार्थी मात्र भएर त्यसको लागि एउटा शिक्षकले पढाउँदै गरेको देखियो । तर अहिले आएर सरकारी विद्यालयको पनि स्तर बढ्दै छ र विद्यार्थीको आकर्षण बढ्दै छ । धेरै विद्यालयले राम्रै गरेर राम्रै नतिजा ल्याउँदैछ्न । यसलाइ निरन्तरता दिए सरकारी विद्यालयको अवस्था राम्रै हुन्छ ।
सरकारी विद्यालयमा पढ्नको लागि भर्ना हुन जाँदा जस्तोसुकै नजान्नेलाइ पनि भर्ना गर्नुपर्छ । पढाउनु भनेको नजान्नेलाइ हो । नजान्नेलाइ जान्ने बनाउने हो । जान्दैन भनेर वेवास्ता गर्ने होइन । शिक्षकलाइ अरु कर्मचारी भन्दा ज्यादा पुग्ने तलब दिएर कुनै राजनिती गर्न र अन्य व्यवसायमा लाग्न दिनु हुँदैन । किनकी शिक्षक भनेको भविष्य निर्माण गर्ने व्यक्ति हो । त्यसैले शिक्षकलाई सम्मानित बनाउनुपर्छ । त्यो नगरी सरकारी विद्यालयले लापरबाही गरे आम जनता निजी विद्यालयको तडकभडकमा विश्वास गर्न थाले । त्यसैले गर्दा सरकारी विद्यालय खच्किएको हो । सरकारी विद्यालयलाई परिवर्तन गर्न कुनै ठोस नीति नल्याए निजि बिद्यालयबाट विद्यार्थी अभिभावक ठगिने छ्न् ।
अब निजि विद्यालयको कुरा गर्दा निजि विद्यालयको विद्यार्थीको वृद्धि विकास गर्न खास भुमिका हुदैन छैन पनि । उनिहरुको जसरी भएपनी नाफा कमाउनु हो । हुन त शिक्षामा नाफानोक्सानको कुरा नहुनु पर्ने हो । सरकारी विद्यालयमा हुने विद्यार्थीको चापलाइ कम गर्नु भन्दा अर्को भुमिका छैन । विद्यार्थीहरु सरकारी विद्यालयको अक्रमण्यताका कारण निजिमा लैजान बाध्य छ्न । अर्को कुरा सरकारी विद्यालयमा पढ्दा विद्यार्थीको स्तर सानो हुने र निजि विद्यालय सानदार र स्तरिय हो भन्ने भान परेर निजिमा लैजान्छ्न । सरकारी विद्यालयमा निःशुल्क पढ्नुको सट्टा मोटो रकम तिरेर पढ्नु उनीहरुको बाध्यता हो भन्छ्न् । सरकारीमा पढाउँदा आफ्नो गिल्ला गरेर बेइज्जत गर्छ्न भन्ने अभिभावकमा परेको छ ।
निजि विद्यालयले मैले जानेबुझे सम्म सुरु कक्षा देखि स्कुल छोड्दा सम्म मोटो रकम लिन्छ्न् । निजि विद्यालयमा पढ्ने विद्यार्थीको न पढाइ राम्रो हुन्छ न अतितिक्त कृयाकलाप सिकेका हुन्छ्न न संस्कार सिकेको हुन्छ न बोल्न राम्रो जानेको हुन्छ । अंग्रेजी राम्रो बनाउने बहानामा विहान देखि बेलुकासम्म कक्षा अनि कोचिङ पढाउने गर्दछ्न् । कक्षामा पढाउने भनेर मोटो रकम फी दिएर पनि कोचिङ्ग नपढी हुँदैन भनेर अर्को कोचिङ्गको मोटो रकम लिने गर्छ्न । त्यति मात्र होइन नर्सरी र १, २, ३ कक्षाका विद्यार्थीहरुलाइ कम्प्युटर र लाइब्रेरीको समेत भनेर मोटो रकम लिने गर्छन् । ती दुध खाने बच्चालाइ लाइब्रेरी र कम्प्युटरको रकम किन लिनु ?
किताब किन्न पनि किताबको लिस्ट पठाएर कमिशन खाने, जुत्ता, टाइ, कपडा जस्तामा पनि कन्ट्याक्ट्मा कमिशन खाने, विभिन्न कार्यक्रम गर्न पैसा उठाउने, सरकारले छात्रावृत्ति भनेर छुट्याएको नदिने, नचाहिँदा प्रकाशनका पुस्तक कपि विद्यार्थीले बोक्नै नसक्ने गरि भिराएर बोकाउने, बर्सेनि डेबुक चाहिन्छ भनी भिडाउने, विभिन्न रंगिबिरंगी कपि पेन्सिल रंग गर्ने पेन्सिल भिराइ यी सबै सामानमा कमिशन लिने गर्छ्न । पब्लिकेशनका किताब परिवर्तन गर्ने ताकी अघिल्लो वर्षको किताब पछिल्लो वर्षमा पढ्न नमिलोस् किनकी त्यही किताब दोहोरियो भने फेरि अर्को किताब खरिद नगर्दा पुन कमिशन पाइदैन भन्ने हो । सा-साना बालबालिकालाइ उसको क्षमता भन्दा बढी किताब बोकाउने, होमवर्क दिने गर्नाले विद्यार्थीमा तनाव भएको देखिएको छ ।
अर्को कुरा निजि विद्यालयका विद्यार्थीको आचरण बिग्रदै गएको छ । आफ्नालाइ सम्मान नगर्ने र बोलिमा मिठासको अभाव । गाडीमा घरकै ढोकाबाट चढ्यो, स्कुल भित्र ओराल्यो अनि फेरि फर्कँदा त्यही किसिमले स्कुलको ढोकाबाट गाडी चढेर घरकै ढोकामा ओर्लँदा बिच बाटोमा हुने विभिन्न क्रियाकलाप नदेख्ने अनि बाहिरी साथीभाइसँग बोल्न नपाउने घुलमिल हुन नपाउने हुँदा कुवाको भ्यागुत्तो जस्तो विद्यार्थी हुन्छ । कुनै बाहिरी वातावरणसँग घुलमेल हुन नपाउदा प्राकृतिक विपतिसँग डराउने हुन्छ । आफ्नो परिवार प्रति समर्पण नहुने साथिभाइको लहैलहैमा लाग्ने हुन्छ । अंग्रेजी भाषा जान्नु राम्रो कुरा हो तर निजि विद्यालयका विद्यार्थी आफ्नै देशको नेपाली भाषामा कमजोर हुन्छ्न् । परीक्षा लिँदा पनि दिइनुपर्ने प्रश्न समेटेर अरु थप त्यतिनै प्रश्न थपेर घोक्न लगाइ भोलि त्यही भित्रको आधा प्रश्न परिक्षामा सोधेपछी घोकेको त लेखिहाल्छ्न् नि । अनि त्यसरी लेख्दा प्राप्तांक पनि राम्रै आउँछ । त्यो प्राप्ताङ्क अभिभावक र विद्यार्थीलाई देखाएर हेर्नुस तपाइको नानिले यत्रो नम्बर ल्यायो तपाइको नानी राम्रो छ अझ कोचिङ्ग पढाउनु भयो भने अझ गर्छ भनी मख्ख पारी पैसा असुल्ने राम्रो रणनिती बनाएका हुन्छ्न ।
धेरै किताब बोकाएर घोकाएर परिक्षामा पास गराएकै भरमा गुणात्मक शिक्षा प्राप्त हुन्छ भन्ने छैन । विद्यार्थीलाई आफुतिर आकर्षित गर्न अनेक बहानाबाजी पनि गर्ने अनि पैसा पनि चर्को असुल्ने गर्दछ्न् । सरकारी विद्यालयले आफुखुसी शुल्क उठाउने प्रावधान नभएकोले जथाभावी उठाउँदैन । तर निजि विद्यालय र कलेजले स्कुल छोड्दा पनि चारित्रिक प्रमाणपत्र भनी मोटो रकम लिइ अभिभावकको ढाड सेक्छ्न जुन चारित्रीक प्रमाणपत्र स्कुलले अनिवार्य दिनुपर्ने हुन्छ । दिन मानेनन् भने अर्को स्कुलमा भर्ना गर्दा चारित्रिक प्रमाणपत्रको जरुरत पर्दैन । सोध्यो भने त्यही स्कुललाइ सोध्नुस् भन्दा हुन्छ । शिक्षा कार्यलयले दिने लब्धांकपत्र र प्रोभिजिनल प्रमाणपत्रको लाग्ने शुल्क तोकेको रु ३०० रुपैयाँको बदलामा ५ हजार १० हजार रकम लिएर अभिभावक ठग्ने गर्छ्न कसैले आवाज उठाउँदैन । निजि शिक्षण संस्थामा पढेका विद्यार्थीले सरकारले दिने अतिरिक्त सुविधा पनि पाउँदैनन् । निजि स्कुलमा पढ्ने विद्यार्थी केबल शैक्षिक मजदुर मात्र हुन । निजि विद्यालय भवनको स्तर राम्रो हुन्छ तर सामुदायिक विद्यालय भवनको स्तर फोहोर र विद्यार्थीमैत्री हुँदैन । सरकारले राम्रा र सफा अपाङ्गमैत्री भवन बनाउनुपर्छ ।
विद्यालयमा पढाउने शिक्षकहरुलाइ के भन्न सकिन्छ भने निजि विद्यालयमा सानो रकमको पारिश्रमिकमा कडा मेहनतका साथ एकदिन पनि छुट्टी नलिइ पढाउने तपाइहरु सरकारी विद्यालयमा गएर सरकारी राम्रो तलब खाएर पनि किन पढाउन अल्छी र आलेटाले अनि ठग्ने काम गर्नुहुन्छ ? निजिमा पढाएजस्तै पढाउनस् त सरकारी विद्यालयको स्तर कस्तो हुन्छ ? शिक्षकहरु एउटा मालिकको निर्देशनलाइ सरक्क लुरुलुरु मान्ने अनि सरकारी विद्यालयमा आउदा चाहिँ नचाहिँदो अधिकार र तलब चाहिने ? अनि सरकारको निर्देशनको चाहिँ अवज्ञा गर्ने ? त्यसैले जस्तो विद्यालय भएपनी मेहनत गरेर सामुदायिक विद्यालयमै पढ्नुपर्छ । त्यसो गरे शिक्षाको गुणस्तर बढ्छ । शैक्षिक माफियाको जरो उखेल्नु हामी सबै शिक्षा प्रेमीको कर्तव्य हो ।

