के ओली-प्रचण्ड पुनर्मिलन सम्भव छ ?

काठमाडौं,२८मंसिर। सुदुरपश्चिमबाट संकल्प यात्रामा निस्केका पुर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खोटाङको दिक्तेलमा बास बस्दै गर्दा राती प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरे।

त्यसदिन प्रधानमन्त्री प्रचण्डको जन्मदिन थियो।’मेरा मित्र प्रचण्डजीलाई जन्मदिनको शुभकामना’ भन्दै एकबर्ष अघि आफ्नै बालकोटको बार्दलीमा खिचेको दुई जनाको तस्वीर सहित त्यही समय ओलीको फेसबुक स्टाटस पनि आयो।यसले ओली-प्रचण्ड सम्बन्ध सुध्रिएको हो वा अझै एकले अर्कोलाई फकाउदै छन् ? भन्ने कुराको अड्कलबाजी शुरु भएको छ।

अर्को कुरा के भने गत बर्षको मंसिर सम्म कांग्रेस सहितको गठबन्धनमा रहेका प्रचण्ड एकाएक पुष १० गते ओलीको बार्दली पुगेर एमालेसँग गठबन्धन गर्दै प्रधानमन्त्री नियुक्त भए। प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएको एक वर्ष पुस १० मा पुग्दैछ । प्रधानमन्त्री प्रचण्डले आफूले सरकारको नेतृत्व गरेको एक वर्ष पुग्न लागेको अवसरमा मन्त्रिपरिषद् हेरफेरको तयारी गरेको समाचार पनि बाहिरिएका छन् । यद्यपि प्रचण्डले अहिले मन्त्री परिवर्तन गर्ने कुनै तयारी नभएको बताएका छन् ।

तर,यहि समयमा ओली-प्रचण्ड सहित रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई समेत लिएर सरकार बन्न सक्ने अनुमान समेत गरिएको छ। प्रधानमन्त्री दाहालले कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग पूनः सहकार्य गर्नेगरि तयारी थालेको र यो अभियानमा एमाले र माओवादीसंगै रास्वपा पनि सहभागी हुने चर्चा चल्न थालेको छ।यसैको सुरुवात स्वरुप ओलीको यात्रामा माओवादी नेताहरूले समेत स्वागत गरेका थिए।रुकुममा पुर्व मन्त्री एवं माओवादी उपमहासचिव जनार्दन शर्मा र सिन्धुपाल्चोकमा माओवादी बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले ओली नेतृत्वको एमाले टिमलाई भव्य स्वागत गरेको थियो। त्यस लगत्तै ओलीले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरि शुभकामना दिएका थिए।

यतिबेला पुर्वको भ्रमणमा रहेका ओलीले सार्वजनिक रुपमा सरकारको आलोचना गरेपनी प्रचण्डको बिरोध गरेका छैनन् ।दुर्गा प्रसाईं को आन्दोलनदेखि नै ओली-प्रचण्ड नजिक छन् भन्ने चर्चा पनि छ। प्रधानमन्त्री प्रचण्डसंग एमाले अध्यक्ष ओली भित्री रुपमा सहकार्य गर्न चाहन्छन् भन्ने कुरा पनि उनको पछिल्लो गतिविधि र बोलीले स्पष्ट गर्दछ।

एमाले पार्टीको ‘समृद्धिको लागि संकल्प यात्रा’ भन्ने राजनीतिक अभियानको क्रममा सरकारको आयु छोटो छ भनेपनी प्रचण्डबारे त्यति खरो टिप्पणी गरेका छैनन् ।यता, कांग्रेसको शेखर कोइराला समूहसंग मिलेर कोशीमा सरकार बनाउदा एमालेले त्यो समुहबाट धोका पाएको भन्दै कांग्रेस भन्दा माओवादीसंगै सहकार्य गर्न एमाले दोस्रो पुस्ता तम्तयार देखिएको छ।

त्यसैले पनि अहिले अध्यक्ष ओली प्रचण्डसँग सम्बन्ध सुधारेर अघि बढ्न चाहेका छन् भन्ने कुरा एमालेका अन्य नेताले समेत माओवादी नेतासँग छलफल गर्दा बताउने गरेका छन्। ओलीले कांग्रेससँगको गठबन्धन तोडेर आए प्रचण्डलाई अहिलेको एक वर्षसहित तीन वर्ष नै प्रधानमन्त्री बनाउन सकिने प्रस्ताव गरेको समेत चर्चा छ । बाँकी दुई वर्ष ओलीले सरकारको नेतृत्व गर्ने र ०८४ को चुनावमा समेत मिलेर जाने समझदारी बनेको बुझिन्छ।

रवि नेतृत्वको रास्वपालेपनि कांग्रेससँगको गठबन्धन तोडे माओवादीलाई साथ दिनसक्ने वचन दिएको भन्दै एमाले नेताहरू राष्ट्रिय सभा निर्वाचन अगाडी नै गठबन्धन भत्काउन लागि परेको चर्चा छ । यसअघि रास्वपाका सभापति रवि लामिछानेले आफ्नो दलको संसदीय दल र केन्द्रीय कमिटीको संयुक्त बैठकको लागि मधेश झर्नुअघि प्रधानमन्त्री दाहालसँग छलफल गरेका थिए ।

सो छलफल रास्वपाको सत्तारोहणबारे केन्द्रित थियो । प्रधानमन्त्री दाहालले रविलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए । रविले पनि यसबारे सोच्न सकिने र उपप्रधानसहित गृहमन्त्रालयको नेतृत्व मागेका थिए । लामिछोनेको उक्त प्रस्तावमा प्रधानमन्त्री दाहाल सकारात्मक थिए । तर, रविले कांग्रेससहितको गठबन्धन नभएर एमालेसहितको गठबन्धन भएमात्रै आफूहरु सरकारमा आउनसक्ने वचन दिएको स्रोतको दाबी छ ।

उता, एमाले–माओवादीबीच सहकार्य हुनसक्ने सूचना पाएपछि कांग्रेस सभापति शेरबहादुर देउवा भने छट्पटीमा परेका छन् । एकातिर आफ्नै पार्टीका नेताहरु डा.शेखर कोइराला र महामन्त्री गगन थापाले प्रधानमन्त्री दाहाललाई विस्थापित गर्ने भन्दै अभिव्यक्ति दिनु र अर्कोतिर ओलीले प्रचण्ड फकाउनुले देउवा तनावमा देखिएका हुन् । उस्तै परे बाँकी अवधि पुरै प्रचण्डलाई प्रधानमन्त्री दिएर पनि एमाले-माओवादी मिलन रोक्ने दाउमा देउवा सक्रिय रहेको चर्चा पनि छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय