किन फेरियो ओलीको बोली ?

काठमाडौं, २७ मंसिर । नेकपा एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत ‘सङ्कल्प यात्रा’ जारी छ। मंसिर १४ गते शुरु भएको यो यात्रामा पार्टी अध्यक्ष ओली सहित एमालेका शिर्ष नेता सहभागी छन् ।
सुदुरपश्चिमबाट सुरु भएको यात्रा सुदुर,मध्य,पश्चिम नेपालको पहाडी जिल्लाहुँदै पुर्व पुगेको छ। ओखलढुंगाको हर्कपुरमा जनसभा गरेर कोशी प्रवेश गरेको एमालेसँग अहिले कोशी प्रदेश नामाकरणमा असहमति जनाउदै आएको पहिचान पक्षधरसंग द्वन्द्व छ।
बिगतमा एमाले अध्यक्ष ओलीले ‘रुखो’ बोलेर चिढिएका पहिचान पक्षधरले यहि समयमा उदयपुरदेखि पाँचथर सम्म सोही मार्गमा कार्यक्रम राखेको छ। एमालेले संकल्प यात्रा सुरु गरेपछि पहिचान पक्षधरले पनि सोही मार्गमा आफ्नो कार्यक्रम राखेको हो। सोही क्रममा बिगतदेखी नै एमाले नेतृत्व र अन्य नेतालाई पुर्वी पहाडी जिल्लामा उनीहरुको अवरोध हुँदै आएको थियो। अध्यक्ष ओलीदेखी सचीव योगेश भट्टराई र कोशीका पुर्व मुख्यमन्त्री शेरधन राई सम्मलाई आक्रमण र अवरोध पुर्याएको पहिचान पक्षधर समूहले अहिले पनि एमालेकै कार्यक्रमलाई लक्षित गरि विभिन्न कार्यक्रम राखेको हो।
मंगलबार एमाले अध्यक्ष ओली नेतृत्वको टोली कोशी प्रवेश गर्नै लाग्दा पहिचान पक्षधरकै आन्दोलनमा सहकार्य गरिरहेका पुर्व मन्त्री एवं पुर्व माओवादी नेता गोपाल किराँती समेत केहीलाई प्रहरीले पक्रेको थियो। यसले अवस्था थप जटिल बन्ने अनुमानका बिच एमाले अध्यक्ष ओलीले बोली फेरेका छन् ।
पहिचानको आन्दोलनलाई २/४ जना केटा उफ्रेको भनेर होच्याउने ओलीले कोशी प्रवेश गर्दै गर्दा बोली फेरेका हुन् । कोशी प्रदेश नामकरणको विरोधमा आन्दोलन गरिरहेका विरुद्ध एकाएक ओली ‘नरम’ देखिनुलाई कतिपयले संकल्प यात्रा सफल बनाउन ओलीको ‘कुटिल चाल’ भनेर आरोप लगाएका छन् । ओलीले ओखलढुंगाको सभामा ‘राजनीतिक रूपमा विमति हुन सक्ने तर त्यसको समाधान वैधानिक र कानुनी रूपले गर्न सकिने’ भनेर अभिव्यक्ति दिए। अझै अगाडी ओलीले भने-‘पहिचानको कुरा उठाएर बढी भावनामा बग्न जरुरी छैन। बरु राष्ट्रिय एकताको अभियानमा सबै जोडिनुपर्छ।’
पहिचान पक्षधरले एमाले अध्यक्ष ओलीसहितका शिर्ष नेता कसैलाई पनि कोशीमा प्रवेश नदिने चेतावनीसहित राजमार्ग बन्द आह्वान गरेको खबर पाएपछि एकाएक ओलीको बोली फेरिएको विश्लेषण गरिएको छ।

ओलीले पहिचान पक्षधरलाई नेकपा एमाले सामाजिक न्याय र समानताका लागि लड्ने पार्टी रहेको भन्दै सामाजिक न्याय र समानता कायम गर्न र त्यसका आधारमा सामाजिक सद्भाव कायम राख्न मिलेर अगाडि बढौ सम्म भन्न भ्याए।’मेरो आग्रह के हो भने धेरै भावनामा नबगौ’ एमाले अध्यक्ष ओलीले भने,-‘दाजुभाइ, दिदीबहिनीहरू अनावश्यक भावनामा बगेका छन् भने त्यस्ता भावनाले देश बन्दैन ।’
एमालेले सुदुरपश्चिमबाट ‘स्थानीय सम्बन्ध, राष्ट्रिय सन्देश’ भन्ने नारासहित सुरु गरेको यो मध्य पहाडी लोकमार्गको संकल्प अभियान आगामी पुस २ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर समापन हुनेछ ।अभियानमा अध्यक्ष ओलीसंगै उनकी पत्नी र पार्टी शिर्ष नेतृत्व सहित नेताकार्यकर्ता सहभागी छन् ।

