कांग्रेस महासमिति बैठक पुनः सार्ने दाउमा सभापति देउवा

काठमाडौ,२५मंसिर।आगामी पुस १६ देखि १९ सम्म गोदावरीमा हुने भनिएको नेपाली कांग्रेसको महासमिति बैठक पुनः सार्ने तयारी गरिएको छ।
माघ ११ गते राष्ट्रिय सभा निर्वाचनमा जुट्नुपर्ने र मौसम पनि चिसो भएका कारण महासमिति बैठक फागुनमा गर्न उपर्युक्त हुने सभापति शेरबहादुर देउवा लगायत बहुमत पदाधिकारीको धारणा छ। ‘पुसको जाडो समेत भएकोले साथीहरूलाई गाह्रो हुनसक्छ ।त्यसैले बैठक फागुनमा गर्दा ठिक होला’ सभापति देउवाको भनाइ उध्रीत गर्दै एक नेताले परेवान्युजसंग भने ,-‘माघमा राष्ट्रिय सभा निर्वाचन समेत भएकोले पनि हतारमा भन्दा फागुनमा गर्न उचित हुनेमा पदाधिकारी बैठकमा उपस्थित धेरैको राय थियो।’
यता पार्टी प्रचार बिभाग प्रमुख मीन बिश्वकर्माले पनि अब बस्ने पार्टी पदाधिकारी बैठकले महासमिति बैठकबारे निर्णय गर्ने जानकारी दिए। यसअघि पनि सरेको महासमिति बैठक अब सार्न नहुने पक्षमा महामन्त्री गगन थापा मात्रै रहेको बुझिएको छ। प्रचार बिभाग प्रमुख बिश्वकर्माले भने गोदावरीमा बैठक गर्न हल समेत बुक भैसकेकोले अहिलेसम्म अर्को मिति तय नभएको जिकिर गर्छन् ।
पार्टी सभापति देउवाले महासमिति बैठकमा आइपर्न सक्ने समस्यालाई बुझेर बैठक सार्न खोजेको केही नेताको आरोप छ। महासमिति सदस्य निर्वाचनमा धेरै ठाउँमा विवाद भएको र विवादकै बीच कतिपय सदस्य निर्वाचित भएको गुनासो र उजुरी आइरहेकोले तत्काल महासमिति बैठक नगर्ने मुडमा सभापति देउवा रहेको बुझिन्छ।
उता पार्टीमा नेता डा.शेखर कोइराला,महामन्त्री गगन थापा, पुर्व महामन्त्री प्रकाशमान सिंह,कृष्ण सिटौला र डा.शशांक कोइरालाले छुट्टाछुट्टै गुट चलाइरहेको र ती सबै गुटबाट सरकारमा मन्त्री बनाउनेदेखि, राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार बनाउने सम्मका कुरा उठेपछि देउवा अफ्ट्यारोमा परेका छन् ।डा.शेखर कोइरालाले त अझै आफू निकट नेताहरूको बैठक राखेका छन् । त्यो बैठकमा उनी निकट भनिएका महामन्त्री गगन थापालाई भने बोलाइएको छैन।
महामन्त्री थापाले कोशी प्रदेशको मुख्यमन्त्री केदार कार्कीको नियुक्ति एमालेको जोडबलबाट भएकोमा कोइरालासंग असहमति राख्दै आएका थिए। त्यसको स्पस्ट तस्वीर ओखलढुंगामा केही दिन अघि आयोजित कार्यक्रममा नै देखियो। जहाँ मुख्यमन्त्री कार्कीले गगन थापालाई लक्षित गर्दै आफू मुख्यमन्त्री बनेकोमा पार्टी नेतालाई नै नपचेको र बान्ता आएको बताएका थिए। त्यसको काउन्टरमा महामन्त्री थापाले पनि पार्टी नेताकार्यकर्ताले पार्टीको हित भन्दा बाहिर गएर ब्यक्तिगत स्वार्थ हेर्न थालेको भनेका थिए।
पार्टी भित्रका साना ठुला सबै समस्यालाई बोझ मान्ने सभापति देउवाले केन्द्रिय समिति बैठक समेत टार्ने गरेको भन्दै महासमिति बैठक कुनै हालतमा सार्न नदिने पक्षमा महामन्त्री थापा पक्षका केही नेताहरू सक्रिय छन् ।

