जिम्बावे टी-२० विश्वकपमा छनौट हुन असफल, युगान्डा पहिलोपटक छनौट

काठमाडौं, १४ मंसिर । कप्तान सिकन्दर राजाको उत्कृष्ट प्रदर्शनका बाबजुद जिम्बावे आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनौट हुन असफल भएको छ । बिहिबार भएको अन्तिम दिनको खेलमा युगान्डाले रुवान्डालाई हराएसँगै जिम्बावे बाहिरिएको हो ।
युगान्डाले रुवान्डालाई ६५ रनमा अलआउट गरेर लक्ष्य पूरा गर्दै पहिलोपटक टी-२० विश्वकपमा छनौट भएको छ । युगान्डाले ६ मध्ये ५ खेल जित्दा नामिबियासँग पराजित भएको थियो भने जिम्बावे युगान्डा र नामिबियासँग पराजित भएको थियो ।
नामिबिया यसअघि नै ५ खेल जितेर १० अंकका साथ विश्वकपमा स्थान बनाउन सफल भएको छ भने युगान्डाले पनि ६ खेलमा १० अंक जोड्दै विश्वकपको टिकट काट्न सफल भयो । जिम्बावे ६ खेलबाट बढीमा ८ अंकमा सिमित रह्यो ।
यसअघि एकदिवसीय विश्वकप छनौटमा पनि छनौट हुन नसकेको जिम्बावे अब टी२० विश्वकपमा पनि छनौट हुन असफल रहेको हो ।
योसँगै टी२० विश्वकप खेल्ने सबै २० टोलीको टुङ्गो लागेको छ । यसपटकको विश्वकपका लागि नेपाल पनि छनौट भइसकेको छ ।

