एमालेको मेची महाकाली पदयात्रा झुलाघाटबाट सुरु हुँदै

बैतडी, १४ मंसिर । नेकपा एमालेले आजदेखि मेची महाकाली पदयात्रा सुरु गर्दैछ । बिहीबार बिहान बैतडीको झुलाघाटमा एक समारोहकाबीच एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यात्राको उद्घाटन गर्दै छन् । त्यसका लागि अध्यक्ष ओली बैतडी पुगिसकेका छन्।
अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, सुरेन्द्र पाण्डेय, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई लगायतका नेताहरू बैतडी पुगेका छन्।
‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर एमालेले बैतडीको झुलाघाटबाट मध्य पहाडी लोकमार्गको यात्रा सुरु गर्न लागेको हो । यात्राको तयारी एमालेले निकै तामझामसहित गरेको छ। पार्टीको झण्डा र व्यानगरले बैतडीका ठाउँठाउँ रंगिएका छन्।
गएराति बैतडी सदरमुकाम गोठालापानीमा बास बसेका ओलीले आज बिहान नौ बजे पदयात्राको उद्घाटन गर्ने तयारी छ । नेपालको पश्चिमी बिन्दु झुलाघाटमा झण्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरेर ओलीसहितको टोली पूर्वतर्फ लाग्ने छ।
झुलाघाटदेखि सुरु हुने पदयात्रा १ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्गको यात्रा पूरा गरेर पाँचथरको चिवा भञ्ज्याङ पुगेर टुंगिने एमालेले जनाएको छ। १९ दिनसम्म चल्ने यात्राको समापन भने पुस ५ गते काठमाडौँमा गर्ने एमालेको तयारी छ।
यात्राका क्रममा एमालेले ठाउँठाउँमा आमसभाको आयोजना गर्नेछ। पदयात्राको टोली आज पहिलो दिन डडेल्धुराको अमरगढीमा पुगेर बास बस्ने कार्यक्रम छ।

