राजतन्त्रबारे कांग्रेसमा दुई धार !

काठमाडौं, १२ मंसिर । देशमा गणतन्त्र असफल भएको र अब राजतन्त्र ल्याउनुपर्छ वा राजसंस्था र हिन्दुराज्य चाहिन्छ भन्ने बहस चलिरहदा संसदको ठूलो दल नेपाली कांग्रेसमा भने राजतन्त्र बारे स्पष्ट दुई धार देखिएको छ।

सडकमा दुर्गा प्रसाईंको आन्दोलन र सदनमा राप्रपाको बोली राजतन्त्र र हिन्दुराज्य फर्काउनेमा केन्द्रित छ। यद्यपि पुर्व राजा ज्ञानेन्द्र शाह भने यो विषयमा मौन छन् । राजावादीहरु पनि थरी थरीका तर्क गरिरहेका छन् ।

यता नेपाली कांग्रेसमा भने यो विषय बेला बेला उठ्ने र सेलाउने गरेको छ। मुख्यगरी पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा राजतन्त्रको विपक्षमा छन् भने पार्टी नेता डा.शेखर कोइराला राजतन्त्र र हिन्दुराज्यको पक्षमा देखिन्छन् ।

पार्टीको आन्तरिक कार्यक्रमहरुमा नै नेता कोइराला सहित केही नेता राजतन्त्र र हिन्दुराज्यको पक्षमा बोलिरहेका छन् । कांग्रेस नेता शंकर भण्डारी त राजा फर्काउने अभियानमै संलग्न हुने गरेका छन् । त्यसैगरी कतिपय नेताले पार्टी बैठकमा कुरा राख्न नसकेपनी सार्बजनिक कार्यक्रम र आन्तरिक भेटघाटमा हिन्दुराज्य र राजसंस्थाको वकालत गर्ने गरेका छन् ।

तर,पार्टी सभापति देउवाले भने कसैले चाहदैमा अब राजतन्त्र नआउने दाबीलाई दोहोर्‍याएका छन्। सभापति देउवाले नेपाली कांग्रेस नवलपुरको प्रथम जिल्ला भेलालाई सम्बोधन गर्दा पनि कसैले भन्दैमा राजतन्त्र नआउने पटकपटक बताए। संविधानसभाले राजा हटाउने निर्णय गरिसकेकाले राजतन्त्र अब नफर्किने उनको भनाइ थियो।‘पूर्वराजा फर्कने कुरा छैन, संविधानसभाले राजा हटाउने निर्णय गरिसकेको छ, कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन’-सभापति देउवाको भनाइ थियो।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय