प्रचण्ड नेतृत्वको सरकार ढाल्ने खेलमा एमाले !

कांग्रेस र जसपा नेतासँग ओलीको गोप्य भेटघाट

काठमाडौं, १० मंसिर । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र समेतको गठबन्धनबाट निर्मित बर्तमान सत्ता समीकरण भत्काउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफैं सक्रिय हुन थालेको सूचना बाहिरिएको छ।

सार्वजनिक रुपमा आफुहरु सत्ता समीकरण फेरबदलमा नरहेको अभिव्यक्ति दिदै आएका पुर्व प्रधानमन्त्री ओलीले पछिल्लो समय नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका केही नेतासँग छुट्टाछुट्टै भेटेको चर्चा छ । यद्यपि यसलाई पार्टीको आधिकारिक धारणा भनिएको छैन ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दुरी बढ्दै गएपछि एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला र जसपा अध्यक्ष उपेन्द्र यादवसँग बेग्लाबेग्लै भेटेका छन् । यी दुवै भेट सत्ता समीकरण बदल्ने विषयमा नै भएको तर, तत्काल भेटघाटको विषय भने गोप्य राख्ने सहमति बनेको स्रोतको भनाइ छ।

बर्तमान सत्ता समीकरण जसरी पनि बदल्ने अभियानमा अध्यक्ष ओली रहेको भएपनी कांग्रेस र जसपाको ग्रीन सिग्नल भने ओलीले पाएका छैनन् । अर्थात सरकार ढालेर एमालेको नेतृत्वमा नयाँ सत्ता समीकरण बनाउने कुरामा कोइराला र यादवले कुनै प्रतिक्रिया दिएका छैनन् । स्रोतका अनुसार एमाले अध्यक्ष ओलीले यहि विषयमा राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टीका नेतासँग पनि छलफल गरेका छन् ।

स्रोतका अनुसार एमालेले प्रचण्ड सरकार ढाल्नका लागि शेखर कोइराला वा उपेन्द्र यादवलाई प्रधानमन्त्रीको अफर समेत गरेको खुलेको छ। यद्यपि कोशी प्रदेश सरकार निर्माणमा धोका भएको भन्दै एमाले र कांग्रेसको शेखर समुहबिच पछिल्लो समय अविश्वास पैदा भएको छ । एमालेको समर्थनमा कोशीको मुख्यमन्त्री बनेका कांग्रेस(शेखर समुह)का केदार कार्कीले मुख्यमन्त्री भएपछि पुनः गठबन्धनतिरै ढल्केको भन्दै एमालेले प्रदेश सरकार छाडेर बसेको छ ।

एमालेले माओवादी रहित गठबन्धन निर्माण सफल भए प्रधानमन्त्री जसलाई दिन पनि तयार रहेको भन्दै नयाँ गठबन्धनको कसरत जारी राखेको छ। यो अभियान दसैं अगाडी नै सुरु भएपनी दसैं तिहार र छठ पर्वका कारण रोकिएको एक नेताले बताए। उनका अनुसार एमालेको यो रणनीति थापा पाएरै बर्तमान सत्ताले दुर्गा प्रसाईंलाई एमाले विरुद्ध अभियान चलाउन दिएको समेत बताए।

गत वर्ष पुस १० मा एमाले-माओवादी सहितको सत्ता समीकरणमा प्रचण्ड नेतृत्वको सरकार बनेको थियो । तर, २०७९ फागुन ११ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेससहित ८ दलको बैठकले एमालेसँगको पूर्वसहमति तोडेर पुरानै गठबन्धन अनुरुप प्रचण्ड अगाडी बढेपछि चिढिएको एमाले एक बर्ष भित्रै बदला लिनेगरी सरकार ढाल्ने कसरतमा लागेको टिप्पणी गरिएको छ।

तर,एमालेले चाहे जस्तो तत्काल सत्ता समीकरण फेरिने अवस्था भने देखिन्न। सत्ता समीकरण फेरबदलका लागि कांग्रेस तयार नभएसम्म एमालेले गरेको कसरत काम नलाग्ने कांग्रेसका एक नेता बताउँछन् । उनले तत्काल माओवादीसंग गठबन्धन तोडेर एमालेसँग गठबन्धन गर्न संभव नभएको भन्दै पुर्व सहमति अनुसार नै बर्तमान गठबन्धन अझै ४ बर्ष कायम रहने बताए।’प्रधानमन्त्री र मन्त्रीहरु फेरिन सक्छन् तर गठबन्धन फेरिदैन’ उनले भने-‘सधैं सत्ता फेरबदलमा मात्रै लाग्दा जनताले नपत्याउन सक्छन् त्यसैले अब जनताको पक्षमा काम गर्न अर्को गठबन्धन चाहिदैन।’

तर,जसरी पनि यो गठबन्धन भत्काउने अभियानमा रहेको एमालेले ओली निवास बालकोटमा दैनिकजसो गोप्य भेटघाट गरिरहेको सूचना सत्ता गठबन्धनलाई आइरहेको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ। स्रोतका अनुसार एमालेका दोस्रो तहका नेताहरू उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, सचिव रघुवीर महासेठ,योगेश भट्टराई लगायतका नेता यतिबेला गठबन्धन भित्र र बाहिर रहेका दलहरूसंग छलफलमा रहेको बुझिएको छ । उनीहरुले छलफल गरेपछि केही नेतालाई ओली निवास बालकोट लैजाने र भेट गराउने गरेको पनि खुलेको छ।

यद्यपि गठबन्धनको ठूलो दल नेपाली कांग्रेसले नचाहेसम्म प्रचण्ड सरकार नढल्ने गठबन्धनका नेताहरूको बुझाइ छ।प्रतिनिधि सभामा २७५ सांसद छन् । जसको बहुमतका लागि १३८ सिट चाहिन्छ । अहिले संसदमा एमालेको ७८ सिट मात्रै छ । त्यस्तै रास्वपाको २१, राप्रपाको १४ सिट छ । यी तीनै दल एक ठाउँमा उभिएमा जम्मा ११३ सिट हुन्छ । बहुमतका लागि अझै २५ सिट आवश्यक पर्छ । त्यसका लागि जसपाको १२, जनमत पार्टीको ६, नागरिक उन्मुक्ति पार्टीको ४, नेमकिपा र राजमोको एक/एक र स्वतन्त्र सांसदको समेत मत आवश्यक पर्छ ।

यसमा जसपा,जनमत र नागरिक उन्मुक्तिको सरकारको मन्त्रीपरिषद मै सहभागीता छ भने राष्ट्रिय जनमोर्चा गठबन्धन मै कायम छ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय