फिफा विश्‍वकप छनौटमा नेपालले यमनसँग खेल्दै, दर्शकलाई घर फर्कन निःशुल्क बस

काठमाडौं, ५ मंसिर । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग खेल्दैछ । काठमाडौंको दशरथ रंगशालामा बेलुकी ७ बजे खेल सुरु हुने छ ।

फिफा वरियतामा १७३औं स्थानमा रहेको नेपालभन्दा यमन १७ स्थान अघि छ । यद्यपि घरेलु मैदान र दर्शकको साथले यमनलाई पहिलोपटक हराउने नेपालको लक्ष्य छ ।

सोमबार भएको प्रि–म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसले यमन विरुद्ध जित निकाल्ने विश्‍वास व्यक्त गरेका थिए ।

हालसम्म नेपाल र यमनबिच चार खेल भएको छ जसमध्ये नेपालले एक खेल बराबरीमा रोक्न सफल हुँदा तीन खेलमा पराजित भएको छ ।

नेपाल र यमनको यस खेल हेरिसकेपछि घरसम्म पुग्न दर्शकलाई सहज होस् भनेर एन्फाले निःशुल्क बसको व्यवस्था गरेको छ ।

विभिन्न रुटमा १५ वटा बसको व्यवस्था गरिएको जनाएको छ । बस सेवाका लागि दर्शकहरुले टिकटको अर्धकट्टी देखाउनुपर्ने छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय