विश्वकप जित्न अस्ट्रेलियालाई भारतको मध्यम लक्ष्य
काठमाडौं, ३ मंसिर । भारतमा जारी आइसिसी क्रिकेट विश्वकपको फाइनल खेल आज भइरहेको छ । उपाधिका लागि घरेलु टोली भारत र अस्ट्रेलिया खेलिरहेका छन् ।
अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले अस्ट्रेलियालाई २४१ रनको मध्यम लक्ष्य दिएको छ । भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रन बनायो ।
भारतका लागि केएल राहुलले सर्वाधिक ६६ रन बनाए । त्यस्तै विराट कोहलीले ५४ रन बनाए भने कप्तान रोहित शर्माले ४७ रन बनाए । सूर्यकुमार यादवले १८ रनको योगदान दिए ।
अस्ट्रेलियाका मिचेल स्टार्कले १० ओभरमा ५५ रन खर्चेर ३ विकेट लिए । त्यस्तै कप्तान प्याट कमिन्सले १० ओभरमा ३४ रन दिएर २ विकेट लिए । जोश हेजलवूडले १० ओभरमा ६० रन दिएर २ विकेट लिए । एडम जाम्पाले १० ओभरमा ४४ रन दिएर विकेट लिए । ग्लेन म्याक्सवेलले ६ ओभरमा ३५ रन दिएर १ विकेट लिए ।