विश्‍वकप क्रिकेटको उपाधिका लागि भारत र अस्ट्रेलिया खेल्दै

काठमाडौं, ३ मंसिर । आइसिसी क्रिकेट विश्‍वकप २०२३ को उपाधिका लागि आइतबार भारत र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदै छ । अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रङ्गशालामा दिउँसो सवा २ बजेदेखि फाइनल खेल सुरु हुने छ ।

दुईपटकको विश्‍वविजेता भारतले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएर फाइनलको यात्रा तय गरेको थियो भने पाँचपटकको च्याम्पियन अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराउँदै उपाधि भिडन्त पक्का गरेको थियो।

यस विश्‍वकपमा शानदार लयमा रहेको भारत तेस्रो उपाधि जित्‍न निकै उत्साहित देखिन्छ । उता पाँचपटकको विजेता टोली अस्ट्रेलिया विश्‍वकपमा आफ्नो दबदबा कायमै राख्‍ने सोचमा हुने छ ।

विश्‍वकप क्रिकेटको नकआउट वा फाइनलमा भारत र अस्ट्रेलिया हालसम्म तीनपटक खेलेका छन् जसमा २००३ को विश्‍वकप फाइनलमा अस्ट्रेलियाले भारतलाई हराउँदै उपाधि जितेको थियो ।

त्यस्तै सन् २०११ को क्‍वाटरफाइनलमा अस्ट्रेलियालाई हराएको भारतले सो वर्ष उपाधि नै जितेको थियो । त्यसैगरी सन् २०१५ को विश्‍वकप सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल पुगेको अस्ट्रेलियाले फाइनलमा पनि जीत निकाल्दै उपाधि जितेको थियो । विश्‍वकपमा भने कुल १३ खेल खेल्दा अस्ट्रेलियाले ८ र भारतले ५ खेल जितेका छन् ।

जीतको सम्भावनाः भारत ४८ % र अस्ट्रेलिया ५२%

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय