फिफा विश्वकप छनौट: युएईसँग नेपालको हार
काठमाडौं, ३० कात्तिक । फिफा विश्वकप छनौट अन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाल बलियो टोली युएईसँग ४ ० गोलअन्तरले पराजित भएको हो ।
युएईको जीतमा कप्तान अली मखबाउतले दुई गोल गरे भने खलिफा मुबारक र फावियो लिमाले १ १ गोल गरे । सबै गोल पहिलो हाफमा भएका थिए । दोस्रो हाफमा युएईले पाएका थुप्रै अवसरहरुमा गोल थप्न भने सकेन ।
खेलको १०औं मिनेटमा खलिफाले गोल गर्दै युएईलाई अग्रता दिलाएका थिए । ३५औं मिनेटमा प्राप्त पेनाल्टीमा मखबाउतले गोल गर्दै युएईको अग्रता दोब्बर पारे ।
४४औं मिनेटमा हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै मखबाउतले टोलीलाई ३-० ले अगाडि बढाए । इन्जुरी समयको पहिलो मिनेटमा फाबियो लिमाले गोल गर्दै टोलीलाई पहिलो हाफमा ४ ० ले अगाडि राखे ।
नेपालले अब विश्वकप छनोटको दोस्रो खेलमा यमनसँग दशरथ रङ्गशालमा नोभेम्बर २१ मा खेल्ने छ । यस समूहमा नेपालसँगै यमन, यूएई र बहराइन छन् ।