
अस्ट्रेलिया आठौंपटक क्रिकेट विश्वकपको फाइनलमा
काठमाडौं, ३० कात्तिक । पाँचपटकको च्याम्पियन टोली अस्ट्रेलिया भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बिहिबार भएको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै अस्ट्रेलिया आठौंपटक फाइनलमा पुगेको हो ।


दक्षिण अफ्रिकाले दिएको २१३ रनको लक्ष्य अस्ट्रेलियाले १६ बल बाँकी छँदा ७ विकेटको क्षतिमा पूरा गर्यो । अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ६२ रन बनाए । त्यस्तै स्टिभ स्मिथले ३० रन बनाए भने डेभिड वार्नरले २९ र जोश इङ्लिसले २८ रन बनाए ।

मार्नस लबुशानले १८ रन बनाउँदा मिचेल स्टार्क १६ र कप्तान प्याट कमिन्स १४ रनमा अविजित रहे । दक्षिण अफ्रिकाका लागि जेराल्ड कोट्जी र तब्रेज शाम्शीले २-२ विकेट लिँदा कगिसो रबाडा, एइडेन मार्क्रम र केशव महाराजले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले खराब सुरुवातका बाबजुद डेभिड मिलरको शतकमा मध्यम योगफल खडा गरेको थियो । सुरुवाती १० ओभरमा २ विकेट गुमाएर १८ रन मात्र बनाएको दक्षिण अफ्रिकाले २४ रनमा ४ विकेट गुमाएको थियो ।
त्यसपछि मिलर र हेनरिच क्लासेन मिलेर ९५ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । मिलर १०१ तथा क्लासेन ४७ रनमा आउट भए । अस्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कमिन्सले ३ ३ तथा जोश हेजलवूड र ट्राभिस हेडले २ २ विकेट लिए ।
अस्ट्रेलियाले अब छैंटोपटक उपाधि जित्नका लागि भारतसँग खेल्ने छ । फाइनल खेल आइतबार अहमदाबादमा हुने छ ।
Comments

