रास्वपाले मंसिर २ देखि ४ घरदैलोमा मतदाता भेट्ने


काठमाडौ,२४ कार्तिक।राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर २ देखि ४ गतेसम्म जनताको घरदैलोमा पुगेर सबै मतदाताको सम्मानका लागी धन्यवाद दिने भएको छ।

पार्टी केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले सो निर्णय गरेको हो।’गत मंसिर ४ गते जनमत दिई विजयी गराउनुहुने मतदाताहरुको सम्मानमा यही मंसिर २, ३ र ४ गते घरदैलो कार्यक्रममा जाने निर्णय गरेको छ’-बैठकको निर्णयमा लेखिएको छ।

यसैगरी कार्तिक १७ गते (शुक्रबार) राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भई गएको भूकम्पमा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा भावपूर्ण समवेदना तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि बैठकले गरेको छ।

बैठकले प्रभावकारी सहकार्य र समन्वयसहित जाजरकोट भूकम्प प्रभावितहरुको खोज, उद्धार र उपचारमा तीनै तहका सरकारले देखाएको सक्रियता र प्रधानमन्त्री स्वयम्‌को चासो, चिन्ता र पहलकदमीको कदर गरेको छ। तर, भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण तथा प्रारम्भिक पुन:स्थापनाको चरणमा आइपुग्दा वर्तमान सरकारको कार्यशैली र कार्यप्रति रास्वपा कत्ति पनि सन्तुष्ट छैन भन्दै राहत वितरणमा पनि निर्लज्ज रुपमा दलीय स्वार्थ हावी भएको रास्वपाको निष्कर्ष रहेको बैठकपछि जारी बिज्ञप्तिमा उल्लेख छ ।

बिज्ञप्तिमा भनिएको छ-‘भूकम्प प्रभावित वस्तीहरुमा मृत पशु-चौपायाको उचित व्यवस्थापन नहुँदा, अस्थायी शौचालयसमेतको अभाव र पर्याप्त खानाबिना बढ्दो चिसोमा खुला आकाशमुनि रात बिताउनु पर्दा भूकम्प प्रभावितहरुको बिरामी हुन थालेका छन् । तत्काल व्यवस्थापन चुस्त दुरुस्त बनाउन नसक्दा महामारी फैलने सम्भावना देखिएको छ । बालबालिका, वृद्धवृद्धा र सुत्केरीको अवस्था झनै कष्टप्रद छ । यो बैठक स्थानीय सरकारमार्फत् दलीय स्वार्थ नराखी न्यायोचित रुपमा सबै प्रभावितले तत्कालिन राहत पाउने गरी वितरणको प्रबन्ध मिलाउन तथा सम्भावित स्वास्थ्य संकट न्यूनीकरणका लागि सरकारलाई सचेत गराउँदछ ।’

बैठकले पार्टीको महाधिवेशन विधि सम्बन्धी थप छलफलका लागि मंसिरको ११, १२ र १३ गते महोत्तरीको जलेश्वरमा केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बस्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी केन्द्रीय सदस्य मोहन बहादुर थापाले ३ करोड रुपैयाँ मागेको भनी पार्टीबाट निष्कासित पूर्व सांसद डा. ढाका कुमार श्रेष्ठले सञ्चारमाध्यमहरुमा सार्वजनिक अभिव्यक्ति दिएकाले आफ्नो इज्जत प्रतिष्ठा र चरित्रमा आँच पुर्याउने कार्य भएको भनी मोहन बहादुर थापाले काठमाडौं जिल्ला अदालतमा मानहानीको मुद्दा दायर गर्नुभएको र सोको टुंगो नलागेसम्म पार्टीको पदीय जिम्मेवारीमा नरहने जानकारी गराउनुभएकोमा उहाँको निर्णयलाई स्वीकार गरेको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय