रिगलले अझै ११ बर्ष ११ महिना ५ दिन जेल बस्नुपर्ने !

काठमाडौ, २० कार्तिक।राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाएर पनि सर्बोच्च अदालतको फैसला बमोजिम पुनः जेल पुगेका योगराज ढकाल अर्थात ‘रिगल’ अझै ११ बर्ष भन्दा बढी समय जेल बस्नुपर्ने भएको छ।
नवौं संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा रिगलले राष्ट्रपतिबाट आममाफी पाएका थिए । उनको आममाफीविरुद्ध रिट निवेदन लिएर भारती मानन्धर सर्वोच्च गएकी थिईन् ।
आफ्ना श्रीमान् चेतन मानन्धरको हत्यारालाई पुनः जेल पठाउन माग गर्दै पीडित भारती अनशन समेत बसेकी थिइन्। रिगलले २०७२ सालमा भारतीका श्रीमान् मानन्धरलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । त्यसपछि अदालतले उनलाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।
फैसला बमोजिम जेल बसेका रिगललाई राष्ट्रपति पौडेलले आममाफी दिएपछि चौतर्फी आलोचना समेत भएको थियो। आम माफी विरुद्ध अनशन बसेकी भारती न्यायको लागि अदालत सम्म पुगेकी हुन् । उक्त रिट निवेदनको सुनुवाइ गर्दैै सर्वोच्चको पूर्ण इजलासले रिगलको आममाफी बदर गरिदिएको थियो । सर्वोच्चले रिगललाई अब ११ वर्ष ११ महिना ५ दिन थुनामा राख्न भनेको छ ।
सर्वोच्चको सोही आदेश बमोजिम जिल्ला अदालत बाँकेले कैदी पूर्जीसहित रिगललाई कारागार पठाएको हो। राष्ट्रपतिबाट सोही दिन माफी पाएका एकजना रुकुममा हत्या गरेर पुनः जेल पुगेका छन् भने अर्का स्याङ्जाका एक ब्यक्ति अपहरण र फिरौतीको धम्की दिएर जेल पुगेका छन् ।

