रोमाञ्‍चक फाइनल, अपराजित रहँदै ओमान च्याम्पियन

प्रतिक भट्ट

काठमाडौं, २० कात्तिक । आइसिसी टी२० विश्‍वकप एसिया छनौटको फाइनल खेल रोमाञ्‍चक बन्यो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा २५ हजार भन्दा बढी दर्शकको उपस्थितिमा भएको फाइनल खेल सुपर ओभरमा पुगेको थियो ।

सुपर ओभरमा ओमानका लागि ब्याटिङमा आए ओमानका भरपर्दा अनुभवी खेलाडीद्वय आकिब इलियास र नसीम खुशी । जिशान मकसुद तेस्रो नम्बरका लागि तयार थिए । नेपालका कप्तान रोहित पौडेलले अविनाश बोहराको हातमा बल थमाए ।

आकिबले पहिलो बलमा एक रन लिएर खुशीलाई स्ट्राइक दिए । दोस्रो बलमा योर्कर फाल्ने धुनमा बल फुल टस गयो र खुशीले छक्का प्रहार गरे । तेस्रो बल डट रह्‍यो । चौथो बलमा खुशीले अर्को छक्का हिर्काए । त्यसपछिको बल अविनाशले वाइड फाले । पाँचौं बलमा पनि फुल टस बलमा छक्का भयो । अन्तिम बलमा १ रन बटुल्दै ओमानले २१ रन जोड्यो ।

त्यसपछि नेपालका  लागि ब्याटिङमा कुशल भुर्तेल र गुल्शन झा आए । ओमानका कप्तान जिशान मकसुदले अनुभवी बलर बिलाल खानलाई बल थमाए । बिलालको ओभरमा २२ रन जोड्न मुश्किल हुने पहिले नै अनुमान गरिएको थियो । भुर्तेल पहिलो बलमै आउट भए । दोस्रो बल डट तथा तेस्रो र चौथो बलमा १-१ रन भयो । पाँचौं र छैटौं बल चौका गएपनि ओमान विजयी भइसकेको थियो ।

त्यसअघि दुवै टोलीले निर्धारित २० ओभरमा १८४ रन बनाएपछि खेल टाइ भएर सुपर ओभरमा धकेलिएको थियो । १८५ रनको बलियो लक्ष्य पछ्याउने क्रममा ओमानले सुरुवातदेखि नै राम्रो ब्याटिङ गरिरहेको थियो । अन्तिम ओभरमा ८ रन चाहिएको अवस्थामा सन्दीप बलिङमा आएर ७ रन मात्र दिएर खेल सुपर ओभरसम्म पुर्‍याएका थिए ।

१० दिनको अन्तरालमा नेपाल दुई फाइनलमा चुक्यो । यही मैदानमा नेपाल त्रिकोणात्मक श्रृंखलाको फाइनलमा पनि नेपाल युएईसँग अन्तिम ओभरमा ४ विकेटले पराजित भएको थियो । तर दुवै फाइनल नेपालका लागि त्यति स्तब्धपूर्ण रहेन किनभने श्रृंखलामा नेपालले पहिलेका चारवटै खेल जितेको थियो भने यता विश्‍वकपमा पनि छनौट भइसकेको थियो ।

अर्कोतर्फ ओमान भने यस छनौट प्रतियोगितामा अपराजित रहेर च्याम्पियन बन्यो । अपराजित रहने क्रममा उसले नेपाललाई दुईपटक हरायो । छनौटमा नेपालकै समूहमा रहेको ओमानले सिङ्गापुर, मलेसिया र नेपाललाई हराएर समूहविजेता बन्दै सेमिफाइनल पुगेको थियो । सेमिफाइनलमा बहराइनलाई हराएर विश्‍वकपमा छनौट भइसकेको ओमानले फाइनलमा नेपाललाई हराएर उपाधि पनि जित्यो ।

हजारौं घरेलु दर्शकको उपस्थितिमा छनौट प्रतियोगिताको फाइनल खेल अपेक्षा गरे अनुसारकै थ्रिलर बन्यो । ४० ओभर खेलिसक्दा पनि दर्शक आफ्नो ठाउँबाट एक इन्च पनि सरेका थिएनन् । फाइनल नजिते पनि नेपालले विश्‍वकपमा छनौट भएर अब केही कमजोरीहरु सुधार्दै विश्‍वकपमा राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ ।

टी२० विश्‍वकप आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । त्यसका लागि एसियाबाट नेपाल र ओमानले टिकट काटिसकेका छन् भने कुल १८ टोलीको टुङ्गो लागिसकेको छ भने अब अफ्रिकाबाट दुई टोली छनौट हुन बाँकी छ ।

फाइनल खेलपछि विश्‍वकपमा छनौट भएका दुवै टोली ट्रफीका साथ सामूहिक तस्बिर खिचाउँदै । तस्बिर: क्यान

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय