अपराजित भारतसँग दक्षिण अफ्रिकाको लज्जास्पद हार

काठमाडौं, १९ कात्तिक । दक्षिण अफ्रिकाले जारी आइसिसी क्रिकेट विश्‍वकपमा भारतसँग लज्जास्पद हार व्यहोरेको छ । आइतबार भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई २४३ रनको फराकिलो अन्तरले हराएको हो ।

भारतले दिएको ३२७ रनको विशाल लक्ष्य पछ्याएको दक्षिण अफ्रपका २७.१ ओभरमा ८३ रनमै समेटियो । उसका लागि मार्को यान्सेनले सर्वाधिक १४ रन बनाए । राशी भान डेर डुसेनले १३ तथा कप्तान टेम्भा बभुमा र डेभिड मिलरले समान ११ रन बनाए ।

भारतका लागि रविन्द्र जडेजाले ९ ओभरमा १ मेडनसहित ३३ रन दिएर ५ विकेट लिए । त्यस्तै मोहम्मद शामीले ७ ओभरमा १८ रन दिएर २ विकेट लिए । कूलदीप यादवले ५.१ ओभरमा ७ रन दिएर १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३२६ रन बनाएको थियो । विराट कोहली १०१ रनमा अविजित रहे भने श्रेयस अयरले ७७ रन बनाए । कप्तान रोहित शर्माले ४० तथा रविन्द्र जडेजा २९ रनमा अविजित रहे । दक्षिण अफ्रिकाका लुङ्गी एङ्गिडी, मार्को यान्सेन, कगिसो रबाडा, तब्रेज शाम्शी र केशव महाराजले १-१ विकेट लिए ।

यस जीतसँगै अंकतालिकाको शीर्षस्थानमा रहेको भारतले ८ खेलमा १६ अंक जोडेको छ । भारत लगातार ८ खेलमा विजयी भएको छ । दक्षिण अफ्रिका ८ खेलमा १२ अंकसहित दोस्रो स्थानमा छ । दुवै टोली सेमिफाइनलका लागि छनौट भइसकेका छन् ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय