टी-२० विश्वकप एसिया छनौटको उपाधिका लागि नेपाल र ओमान खेल्दै

काठमाडौं, १९ कात्तिक । आइसिसी टी२० विश्वकप एसिया फाइनल्सको उपाधिका लागि आज नेपाल र ओमान खेल्दै छन् । विश्वकपका लागि छनौट भइसकेका दुई टोली अब यस छनौट प्रतियोगिताको उपाधिका लागि भिड्न लागेका हुन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल विहान ११ बजेदेखि सुरु हुने छ । नेपालले चिरपरिचित प्रतिद्वन्दी युएईलाई तथा ओमानले बहराइनलाई हराएर फाइनलको यात्रा तय गर्दै विश्वकपमा पनि स्थान बनाएका थिए ।
यसअघि भएको समू चरणको खेलमा ओमानले नेपालमाथि ५ रनको रोमाञ्चक जीत हासिल गरेको थियो । फाइनल खेल पनि रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।
आजको फाइनल खेलका लागि बिक्री भएको टिकटबाट उठेको रकममध्ये आधा जाजरकोटका भूकम्प पीडितलाई सहयोग गरिने क्यानले जनाइसकेको छ ।

