श्रीलंका ५५ रनमै अलआउट, भारत सेमिफाइनलमा

काठमाडौं १६ कात्तिक । आइसिसी क्रिकेट विश्‍वकप २०२३ मा घरेलु टोली भारतले लगातार सातौं जीत निकालेको छ । बिहिबार भएको खेलमा श्रीलंकामाथि विशाल जित निकाल्दै भारत सेमिफाइनल पुग्‍ने पहिलो टोली बनेको छ ।

भारतले श्रीलंकालाई ३०२ रनको विशाल अन्तरले हरायो । यसअघि अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई यसै विश्‍वकपमा ३०९ रनको अन्तरले हराएको थियो ।

भारतले दिएको ३५८ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका ५५ रनमा अलआउट भयो । श्रीलंकाका लागि कसुन रजिथाले सर्वाधिक १४ रन बनाए । त्यस्तै एन्जेलो म्याथ्युजले १२ रन बनाउँदा महि थिकसाना १२ रनमा अविजित रहे ।

भारतका मोहम्मद शामीले ५ ओभरमा १८ रन दिएर ५ विकेट लिए । मोहम्मद सिराजले ७ ओभरमा १६ रन दिएर ३ विकेट लिए । जसप्रित बुमराह र रविन्द्र जडेजाले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३५७ रन बनाएको थियो । भारतका शुभमन गिलले ९२ तथा विराट कोहलीले ८८ रन बनाए । त्यस्तै श्रेयस अय्यरले ८२ रन बनाए । रविन्द्र जडेजाले ३५ रन बनाए ।

श्रीलंकाका दिल्शान मदुशन्काले १० ओभरमा ८० रन खर्चेर ५ विकेट लिए । त्यस्तै दुश्मान्था चमिराले १ विकेट हात पारे । अन्य दुई ब्याटर रनआउट भएका थिए ।

यस जितसँगै भारत दुई खेल खेल्नु अगावै सेमिफाइनलमा पुगेको छ भने श्रीलंका विश्‍वकपको सेमिफाइनल दौडबाट बाहिरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय