संघीयता खारेज गर्छन् कि जस्तो देखियो: जसपा अध्यक्ष यादव

काठमाडौं, १६ कात्तिक । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलहरु र संघीय सरकारको व्यवहारले संघीयता नै खारेज हुने आशंका बढेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले हालसम्म संघीय निजामती ऐन र प्रहरी समायोजन ऐन नल्याएको भन्दै संघीयता खारेज गर्छन् कि जस्तो देखिएको टिप्पणी गरेका हुन् ।
‘अहिलेसम्म संघीय निजामती ऐन निर्माण गरिएन । उहाँ माननीयजीले भन्दै हुनुहुन्थ्यो संघीयता खारेज गरौँ । भन्नै पर्दैन यतैबाट खारेज गर्दिन्छन् कि जस्तो पो देखियो त’, उनले भने, ‘किनभने आठ/आठ वर्षसम्म संघीय ऐन नबनाउनु, प्रहरी ऐन बनेको धेरै वर्ष भइसक्यो, बनेको पनि कार्यान्वयन नहुनु र प्रदेशहरुलाई अधिकार, कानुन र कार्य गर्ने आवश्यक जनशक्ति समेत नदिने अवस्थाले कसरी संघीय गणतन्त्र टिक्छ ? कसरी संघीय गणतन्त्र संस्थागत हुन्छ ?’ ।

