टी-२० विश्वकप छनौट: समूहविजेता बन्न नेपाल र ओमान भिड्दै

काठमाडौं, १६ कात्तिक । काठमाडौंमा जारी आइसिसी टी२० विश्वकप छनौट एसिया फाइनल्समा आज समूह चरणका अन्तिम खेलहरु हुँदै छन् । समूह ए अन्तर्गतको खेलमा नेपाल र ओमान भिड्दै छन् ।
नेपाल र ओमानबीचको खेल विहान ९ बजेदेखि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुने छ । दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका छन् । यस खेलको विजेता समूहविजेताका रुपमा सेमिफाइनल खेल्ने छ भने अर्को टिम उपविजेताका रुपमा सेमिफाइनल खेल्ने छ ।
नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ८ विकेटले हराएको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानले पहिलो खेलमा मलेसियालाई ३२ रन तथा दोस्रो खेलमा सिङ्गापुरलाई २२ रनले हराएको थियो ।
यस समूहको विजेताले समूह बीको उपविजेतासँग सेमिफाइनल खेल्ने छ । त्यस्तै यस समूहको उपविजेताले समूह बी को विजेतासँग सेमिफाइनल खेल्ने छ । समूह बी मा रोमाञ्चक प्रतिस्पर्धा छ । चारवटै टोलीको सेमिफाइनल सम्भावना छ ।
सेमिफाइनल जित्ने दुई टोली आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी२० विश्वकपका लागि छनौट हुने छन् ।

