लय गुमाउँदै न्युजिल्यान्ड, दक्षिण अफ्रिकासँग फराकिलो हार

काठमाडौं, १५ कात्तिक । भारतमा जारी आइसिसी क्रिकेट विश्‍वकपमा दक्षिण अफ्रिकाले छैटौं जीत हासिल गरेको छ । बुधबारको हाइ भोल्टेज हुने अनुमान गरिएको खेलमा दक्षिण अफ्रिकाले न्युजिल्यान्डलाई १९० रनको फराकिलो अन्तरले हराएको हो ।

दक्षिण अफ्रिकाले दिएको ३५८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३५.३ ओभरमा १६७ रनमा अलआउट भयो । न्युजिल्यान्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६० रन बनाए । उनी अन्तिम विकेटका रुपमा आउट भए । विल योङले ३३ तथा डारिल मिचेलले २४ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

दक्षिण अफ्रिकाका लागि केशव महाराजले ९ ओभरमा ४६ रन दिएर ४ विकेट लिए । मार्को यान्सेनले ८ ओभरमा ३१ रन दिएर ३ विकेट लिए । जेराल्ड कोट्जीले ६.३ ओभरमा ४१ रन दिएर २ विकेट लिए । कगिसो रबाडाले १ विकेट लिए ।

त्यसअघि पुनेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३५७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका राशी भान डेर डुसेनले १३३ रन बनाए भने क्‍विन्टन डिककले यस विश्‍वकपको चौथो शतक प्रहार गर्ने क्रममा ११४ रन बनाए । डेभिड मिलरले ५३ रन बनाए ।

न्युजिल्यान्डका टिम साउथीले १० ओभरमा ७७ रन खर्चेर २ विकेट लिए । त्यस्तै ट्रेन्ट बोल्टले १० ओभरमा ४९ रन दिएर १ विकेट लिए । जिमी निशमले ५.३ ओभरमा ६९ रन खर्चेर १ विकेट लिए ।

यस जीतसँगै ७ खेलमा १२ अंक जोडेको दक्षिण अफ्रिका अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको भारतको समान १२ अंक भएपनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय