बङ्गलादेश विश्‍वकपबाट बाहिरिने पहिलो टिम, पाकिस्तानको शीर्ष ४ सम्भावना कायमै

काठमाडौं, १४ कात्तिक । पाकिस्तानले भारतमा जारी आइसिसी क्रिकेट विश्‍वकपमा तेस्रो जीत हासिल गरेको छ । मङ्गलाबार भएको खेलमा बङ्गलादेशलाई ७ विकेटले हराउँदै पाकिस्तानले सेमिफाइनल सम्भावना जीवितै राखेको हो ।

बङ्गलादेशले दिएको २०५ रनको मध्यम लक्ष्य पाकिस्तानले ३२.३ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो । पाकिस्तानको जीतमा ओपनरद्वय फकार जमान र अब्दुल्लाह शफिकले अर्धशतकीय पारी खेले । जमान ८१ तथा शफिक ६८ रनमा आउट भए । मोहम्मद रिजवान २६ रनमा अविजित रहे । बङ्गलादेशका मेहदी हसन मिराजले ९ ओभरमा ६० रन दिएर ३ विकेट लिए ।

त्यसअघि कोलकातास्थित इडेन गार्डेन्समा टस जितेर पहिले ब्याटिङ गरेको बङ्गलादेशले ४५.१ ओभरमा अलआउट हुँदै २०४ रन बनाएको थियो । महमुदुल्लाहले सर्वाधिक ५६ तथा लिटन दासले ४५ रन बनाए । कप्तान शाकिब हल हसनले ४२ रन बनाए ।

पाकिस्तानका शाहीन अफ्रिदी र मोहम्मद वासिम जुनियरले ३-३ विकेट लिए । त्यस्तै हारिस राउफले २ तथा इफ्तिखार अहमद र उसामा मिरले १-१ विकेट लिए ।

यस जीतसँगै पाकिस्तानको ७ खेलमा ६ अंक छ र सेमिफाइनल पुग्‍ने सम्भावना जीवितै राखेको छ भने ७ खेलमा २ अंक मात्र जोडेको बङ्गलादेश दुई खेल अगावै बाहिरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय