विश्‍वकप क्रिकेटमा अफगानिस्तानको तेस्रो जीत, श्रीलंका पराजित

काठमाडौं, १३ कात्तिक । भारतमा जारी आइसिसी क्रिकेट विश्‍वकप अन्तर्गत सोमबारको खेलमा अफगानिस्तान विजयी भएको छ । अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले हराएको हो ।

श्रीलंकाले दिएको २४२ रनको लक्ष्य अफगानिस्तानले ४५.२ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । अजमतुल्लाह ओमरजाई ७३ तथा कप्तान हशमतुल्लाह शाहिदी ५८ रनमा अविजित रहे । रहमत शाहले ६२ रन बनाएर आउट भए । इब्राहिम जाद्रानले ३९ रन बनाए । श्रीलंकाका दिल्शान मदुशन्काले ९ ओभरमा ४८ रन दिएर २ विकेट लिए । त्यस्तै कशुन रजिथाले १० ओभरमा ४८ रन दिएर १ विकेट लिए ।

त्यसअघि पुनेस्थित महाराष्ट्र क्रिकेट एसोसियसन रङ्गशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले ४९.३ ओभरमा २४१ रनमा अलआउट हुँदै अफगानिस्तानलाई २४२ रनको लक्ष्य दिएको थियो । पथुम निसान्काले ४६, कुशल मेन्डिसले ३९ तथा सदिरा समराविक्रमाले ३६ रन बनाए ।

अफगानिस्तानका फजल हक फारुकीले १० ओभरमा ३४ रन दिएर ४ विकेट लिए । त्यस्तै मुजीब उर रहमानले १० ओभरमा ३८ रन दिएर २ विकेट लिए । ओामरजाइ र राशिद खानले १ १ विकेट लिए ।

योसँगै अफगानिस्तानले जारी विश्‍वकपमा लगातार दोस्रो तथा समग्रमा तेस्रो जीत निकालेको छ । ६ खेलमा ६ अंक भएको अफगानिस्तान तालिकाको पाँचौं स्थानमा छ । समान खेलमा ६ अंक मात्र भएको श्रीलंका छैटौं स्थानमा छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय