भुर्तेलको अर्धशतकमा सिङ्गापुरमाथि नेपालको सहज जीत

काठमाडौं, १३ कात्तिक । काठमाडौंमा सोमबारदेखि सुरु भएको आइसिसी टी-२० विश्वकप एसिया फाइनल्सको आफ्नो पहिलो खेलमा नेपालले जीत हासिल गरेको छ । नेपालले सिङ्गापुरलाई ८ विकेटले हराएको हो ।
सिङ्गापुरले दिएको १४६ रनको मध्यम लक्ष्य नेपालले १६.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो । नेपालका लागि कुशल भुर्तेलले ७४ रन बनाए । त्यस्तै कप्तान रोहित पौडेल ३५ रनमा अविजित रहे । आसिफ शेख २७ रनमा आउट भए ।
त्यसअघि टियु क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको सिङ्गापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो ।सिङ्गापुरका लागि रोहन रङ्गराजनले सर्वाधिक ४६ रन बनाए । त्यस्तै आर्याविर चौधरीले ३७ रन बनाए । मनप्रित सिंहले २४ रन बनाए ।
नेपालका लागि अविनाश बोहराले ४ ओभरमा ४३ रन दिएर ३ विकेट लिए । त्यस्तै करण केसी, गुल्शन झा र सन्दीप लामिछानेले २-२ विकेट लिए ।
नेपालले अब दोस्रो खेलमा मङ्गलबार मलेसियासँग खेल्ने छ ।

