नेपाललाई हराउँदै त्रिदेशीय सिरिजको उपाधि युएईले जित्यो

काठमाडौं, १० कात्तिक । काठमाडौंमा जारी नेपाल, हङकङ र युएई सम्मिलित त्रिकोणात्मक श्रृंखलाको उपाधि युएईले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा नेपाललई ४ विकेटले हराउँदै युएईले उपाधि जितेको हो ।

१६३ रनको लक्ष्य युएईले १ बल बाँकी छँदा ६ विकेटको क्षतिमा पूरा गर्यो । बासिल हामिदले विजयी छक्का प्रहार गरे । उनी २२ रनमा अविजित रहे । युएईका लागि ओपनर तथा कप्तान मोहम्मद वासिमले विस्फोटक ब्याटिङ गर्दै २२ बलमा ४५ रन बनाएर आउट भए । त्यस्तै वृत्या अरविन्द २६ रनमा रनआउट भए । आर्यन्श शर्माले २५ रन बनाए ।

नेपालका गुल्शन झाले ३ ओभरमा १९ रन दिएर २ विकेट लिए । त्यस्तै अविनाश बोहराले ४ ओभरमा २७ रन दिएर २ विकेट लिए । कुशल मल्लको नाममा एक विकेट रह्‍यो ।

त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो । नेपालका लागि ओपनर कुशल भुर्तेलले २९ बलमा ४ चौका र ३ छक्कासहित ५० रन बनाएर आउट भए । करण केसी २३ रनमा अविजित रहे । त्यस्तै दीपेन्द्रसिंह ऐरीले २० तथा कप्तान रोहित पौडेलले १८ रन बनाए ।

युएईका आयान अफजल खानले ४ ओभरमा १९ रन दिएर ३ विकेट लिए । त्यस्तै अली नासिरले ४ ओभरमा ३६ रन दिएर २ विकेट लिए । जाहुर खानले ४ ओभरमा २६ रन दिएर २ विकेट लिए ।

कुनै समय २०० रन बनाउने सम्भावना रहेको भएपनि मध्यक्रमको ब्याटिङ नचल्दा नेपाल मध्यम योगफलमै रोकिएको थियो । नेपालले समूह चरणका चारवटै खेल जितेको भएपनि फाइनलमा युएईसँग स्तब्ध बन्यो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय