अस्ट्रेलियाको कीर्तिमानी जीत, नेदरल्यान्ड्स ९० रनमै अलआउट

काठमाडौं, ८ कात्तिक । भारतमा जारी आइसिसी क्रिकेट विश्‍वकप २०२३ अन्तर्गत बुधबारको खेलमा अस्ट्रेलिया निकै फराकिलो अन्तरले विजयी भएको छ । अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई कीर्तिमानी ३०९ रनले हराएको हो ।

अस्ट्रेलियाले दिएको ४०० रनको विशाल  लक्ष्य पछ्याएको नेदरल्यान्ड्स २१ ओभरमा ९० रनमै समेटियो । विक्रमजित सिंहले सर्वाधिक २५ रन बनाए । तेजा निदामानरुले १४ रन बनाउँदा कप्तान स्कट एडवार्ड्स १२ रनमा अविजित रहे ।

अस्ट्रेलियाका लागि एडम जाम्पाले ३ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए भने मिचेल मार्शले ४ ओभरमा १९ रन दिएर २ विकेट लिँदा मिचेल स्टार्क, प्याट कमिन्स र जोश हेजलवूडले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३९९ रन बनाएको थियो । ओपनर डेभिड वार्नरले यस विश्‍वकपमा दोस्रो शतक प्रहार गरे । उनले ९३ बलमा ११ चौका र ३ छक्कासहित १०४ रन बनाए । त्यस्तै ग्लेन म्याक्सवेलले पनि विस्फोटक ब्याटिङ गर्दै ४० बलमै शतक बनाए । उनले ९ चौका र ८ छक्का प्रहार गर्दै १०६ रनमा आउट भए ।

स्टिभ स्मिथले ७१ तथा मार्नस लबुशेनले ६२ रन बनाए । नेदरल्यान्ड्सका लोगान भान बिकले १० ओभरमा ७४ रन खर्चेर ४ विकेट लिए । त्यस्तै बास डे लिडेले १० ओभरमा ११५ रन खर्चेर २ विकेट लिए । आर्यन दत्तले ७ ओभरमा ५४ रन खर्चेर १ विकेट लिए ।

यस जीत विश्‍वकप इतिहासमै कीर्तिमानी जीत बन्यो । सबैभन्दा बढी रन अन्तरको जीतको आफ्नै रेकर्ड ब्रेक गर्दै अस्ट्रेलियाले नयाँ रेकर्ड बनायो । जीतसँगै अस्ट्रेलियाको ५ खेलमा ६ अंक भएको छ र नेट रनरेटमा पनि व्यापक सुधार भएको ५ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय