पाकिस्तानलाई हराउँदै अफगानिस्तानले रच्यो अर्को इतिहास

काठमाडौं, ६ कात्तिक । भारतमा जारी आइसिसी क्रिकेट विश्वकपमा अफगानिस्तानले अर्को सनसनीपूर्ण जित निकालेको छ । अफगानिस्तानले पाकिस्तानलाई ८ विकेटले हराएको हो ।
पाकिस्तानले दिएको २८३ रनको बलियो लक्ष्य अफगानिस्तानले ६ बल अगावै केवल २ विकेटको क्षतिमा भेट्टायो । अफगानिस्तानका लागि इब्राहिम जाद्रानले सर्वाधिक ८७ रन बनाए । त्यस्तै रहमत शाह ७७ रनमा र कप्तान हशमतुल्लाह शाहिदी ४८ रनमा अविजित रहे । पाकिस्तानका लागि शाहिन अफ्रिदी र हसन अलीले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २८२ रन बनाएको थियो । पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ७४ रन बनाएका थिए । त्यस्तै अब्दुल्लाह शफिकले ५८ रन बनाउँदा शादाब खान र इफ्तिखार अहमदले समान ४० रन बनाए ।
अफगानिस्तनाका नूर अहमदले १० ओभरमा ४९ रन दिएर ३ विकेट लिए । त्यस्तै नविन उल हकले ७ ओभरमा ५२ रन दिएर २ विकेट लिए । मोहम्मद नाबी र अजमतुल्लाह ओमरजाइको नाममा १-१ विकेट रह्यो ।
अफगानिस्तानले यसअघि आफ्नो तेस्रो खेलमा इंग्ल्यान्डविरुद्ध ऐतिहासिक जीत हासिल गरेको थियो । आफ्नो पाँचौं खेलमा आज पाकिस्तानमाथि पनि ऐतिहासिक जीत निकाल्न सफल भएको छ ।

