साविक विजेता इंग्ल्यान्डको लज्जास्पद हार

काठमाडौं, ४ कात्तिक । भारतमा जारी आइसिसी क्रिकेट विश्‍वकप अन्तर्गत शनिबारको दोस्रो खेलमा इंग्ल्यान्डले लज्जास्पद हार व्यहोरेको छ । इंग्ल्यान्डलाई दक्षिण अफिकाले विशाल अन्तरले हराएको हो ।

दक्षिण अफ्रिकाले दिएको ४०० रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्यान्ड २२ ओभरमा १७० रनमा अलआउट भयो । इंग्ल्यान्डका लागि मार्क वूडले सर्वाधिक ४३ रन बनाएर अविजित रहे । गस एट्किन्सनले ३५ रन बनाए । ह्‍यारी ब्रुकले १७ रन बनाए भने कप्तान जस बट्लरले १५ रन बनाए । डेभिड विलीले १२ रन बनाउँदा जोनी बेयरस्टो र आदिल राशिदले समान १० रन बनाए ।

दक्षिण अफ्रिकाका जेराल्ड कोट्जीले ४ ओभरमा ३५ रन दिएर ३ विकेट लिए । लुङ्गी एङ्गीडी र मार्को जान्सेनले २-२ विकेट लिए । कगिसो रबाडा र केशव महाराजले १-१ विकेट लिए ।

त्यसअघि मुम्बईमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३९९ रन बनाउँदै ४०० रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

दक्षिण अफ्रिकाका लागि हेनरिच क्लासेनले विस्फोटक शतक प्रहार गरे । उनले ६७ बलमा १२ चौका र ४ छक्कासहित १०९ रन बनाए । त्यस्तै रिजा हेन्ड्रिक्सले ८५ रन बनाए भने मार्को जान्सेन ७५ रनमा अविजित रहे । राशी भान डेर डुसेनले ६० रन बनाए ।

योसँगै दक्षिण अफ्रिकाले ४ खेलमा ३ जीतसहित ६ अंक जोड्दै तालिकामा तेस्रो स्थानमा यथावत् छ भने फराकिलो हार व्यहोरेको इंग्ल्यान्ड ४ खेलमा केवल २ अंक जोड्दै पुछारबाट दोस्रोमा छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय