पाकिस्तानमाथि अस्ट्रेलियाको शानदार जीत

काठमाडौं, ३ कात्तिक । अस्ट्रेलियाले भारतमा जारी आइसिसी क्रिकेट विश्‍वकपमा लगातार दोस्रो जीत हासिल गरेको छ । शुक्रबार भएको खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हराएको हो ।

अस्ट्रेलियाले दिएको ३६८ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान  ४५.३ ओभरमा ३०५ रनमा समेटियो। पाकिस्तानका लागि इमाम उल हकले सर्वाधिक ७० रन बनाए भने अब्दुल्लाह शफिकले ६४ रन बनाए । त्यस्तै मोहम्मद रिजवान ४६ रनमा आउट भए ।

अस्ट्रेलियाका एडम जाम्पाले १० ओभरमा ५३ रन दिएर ४ विकेट लिए । त्यस्तै प्याट कमिन्सले २ विकेट लिए । मिचेल स्टार्क,  मार्कस स्टोइनिस र जोश हेजलवूडले १ १ विकेट लिए ।

त्यसअघि बैङ्गलोरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले विशाल योगफल खडा गरेको थियो । अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३६७ रन बनायो ।

अस्ट्रेलियाका लागि दुई ओपनर डेभिड वार्नर र मिचेल मार्शले शानदार शतक प्रहार गरे । दुईले पहिलो विकेटका लागि २५९ रनको दोहोरो शतकीय साझेदाी गरेका थिए । वार्नर १६३ रन बनाएर आउट भए भने मिचेल मार्श १२१ रनमा आउट भए । मार्कस स्टोइनिस २१ तथा जोश इङ्लिस १५ रनमा आउट भए । पाकिस्तानका शाहीन अफ्रिदीले १० ओभरमा ५४ रन दिएर ५ विकेट लिए भने हारिस राउफले ३ विकेट लिँदा उसामा मिरले १ विकेट लिए ।

योसँगै ४ खेलमा ४ अंक जोडेको अस्ट्रेलिया अंकतालिकाको चौथो स्थानमा उक्लिएको छ भने समान खेलबाट समान अंक भएको पाकिस्तान नेट रनरेटका आधारमा पाँचौं स्थानमा छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय