राष्ट्रपतिबाट आममाफी पाएको एक महिनाभित्रै प्रेमिकाको हत्या !

काठमाडौं, २ कार्तिक । संविधान दिवसको दिन असोज ३ मा राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाएर जेलमुक्त भएका एक व्यक्तिले फेरि हत्या गरेका छन् । रुकुम पश्चिमको एक होटेलमा मृत फेला परेकी महिलाको हत्यामा ती व्यक्तिको संलग्नता भएको खुलेको छ ।
हत्या आरोपमा प्रहरीले सानीभेरी गाउँपालिका–९ सिम्लीका ३३ वर्षीय लोकबहादुर बिकलाई पक्राउ गरेको छ । बहुविवाह मुद्धामा थुनामा रहेका उनी यही असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले कैद मिनाहा गरिदिएपछ छुटेका थिए ।
उनले मुसीकोट नगरपालिका–७ साँखकी २८ वर्षिया भावना बिकको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो । मुसीकोट नगरपालिका –१ खलङगामा रहेको होटेल सत्कारको कोठा नम्वर १ मा मंगलबार बिहान भावना मृत अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
मृतकको घाँटी रेटेर हत्या गरेको देखिएको छ । मुसीकोट नगरपालिका –१ छिङस्थित माईती घरमा बस्दै आएकी मृतक बिक र हत्या ओरापी लोकबहादुर बिच अनैतिक सम्बन्ध रहेको र आर्थिक लेनदेनको बिषयमा विवाद भएपछि हत्या गरिएको देखिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए ।
प्रहरीले घटनास्थलबाट रगत लागेको धारिलो चक्कु र प्रतिवादीको घरबाट नगद ८५ हजार ८३५ रुपिया समेत बरामद गरेको छ । आईतबार होटेल सत्कारमा पुगेका उनीहरुले त्रिवेणी गाउँपालिकाका विकास केसीको नामबाट होटेलको कोठा बुक गराएका थिए ।
नातामा श्रीमान् श्रीमतीको सम्बन्ध लेखेका उनीहरुले दिएको नाम र विवरण गलत रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका बिक बिरुद्ध जिल्ला अदालत रुकुम पश्चिमबाट जरुरी पक्राउ स्विकृति लिई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ।

