विश्‍वकप क्रिकेटमा न्युजिल्यान्डको लगातार चौथो जीत

काठमाडौं, १ कात्तिक । भारतमा जारी आइसिसी क्रिकेट विश्‍वकप अन्तर्गत बुधबार भएको खेलमा न्युजिल्यान्ड विजयी भएको छ । लगातार चौथो जित हासिल गर्ने क्रममा न्युजिल्यान्डले अफगानिस्तानलाई १४९ रनको विशाल अन्तरले हराएको हो ।

न्युजिल्यान्डले दिएको २८९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ३४.४ ओभरमा १३९ रनमा समेटियो । अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ३६ रन बनाए भने अजमतुल्लाह ओ‌मरजाईले २७ रन बनाए । इक्रम अली खिल १९ रनमा अविजित रहे ।

न्युजिल्यान्डका मिचेल सान्टनर र लकी फर्गुसनले ३-३ विकेट लिए भने ट्रेन्ट बोल्टले २ विकेट लिँदा म्याट हेनरी र रचिन रविन्द्रले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८८ रन बनाएको थियो । उसका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७१ रन बनाए भने कप्तान टम लेथमले ६८ रन बनाए । त्यस्तै विल योङले ५४ रन बनाए ।

अफगानिस्तानका नविन उल हक र अजमतुल्लाह ओमरजाइले २-२ विकेट लिए भने राशिद खान र मुजीब उर रहमानले १-१ विकेट हात पारे ।

जारी विश्‍वकपमा लगातार चौथो खेल जितेको न्युजिल्यान्ड ८ अंकसहित तालिकाको शीर्षस्थानमा रहेको छ भने अफगानिस्तान ४ खेलमा २ अंकसहित नवौं स्थानमा छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय