त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा आज नेपाल र युएई खेल्दै

काठमाडौं, १ कात्तिक । नेपाल हङकङ र युएई सम्मिलित नेपाल टी-२० त्रिकोणात्मक श्रृंखलाको पहिलो खेलमा आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदै छ । काठमाडौंको मुलपानी क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजे सुरु हुनेछ । यो मुलपानीमा पहिलो टी२०आई खेल पनि हुने छ ।

नेपाल र युएई डेढ वर्षपछि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा भिड्न लागेका हुन् । पछिल्लोपटक टी-२० विश्‍वकप छनौटको सेमिफाइनलमा यी दुई टोली भिडेका थिए जसमा युएईले नेपालमाथि प्रभावशाली जीत निकाल्दै विश्‍वकपमा छनौट भएको थियो ।

टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले यूएईसँग अहिलेसम्म कुल पाँच खेल खेल्दा यूएई तीन खेलमा विजयी भएको छ भने नेपालले दुई खेल जितेको छ । यस हेड टु हेड नतिजालाई नेपाल बराबरी गर्ने सोचमा हुनेछ ।

यस श्रृंखलालगत्तै नेपालमै हुने आईसीसी टी-२० विश्वकप एसिया छनोटको तयारीका लागि यो प्रतियोगिता महत्वपूर्ण रुपमा हेरिएको छ ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय