दक्षिण अफ्रिकामाथि नेदरल्यान्ड्सको ऐतिहासिक जीत

काठमाडौं, ३० असोज । भारतमा जारी आइसिसी क्रिकेट विश्‍वकप अन्तर्गत मङ्गलबार भएको खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकामाथि ऐतिहासिक जीत हासिल गरेको छ ।

नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई ३८ रनले हराएको हो । वर्षाका कारण ४३ ओभरमा छोट्याइएको खेलमा नेदरल्यान्ड्सले दिएको २४६ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १ बल अगावै २०७ रनमा समेटियो ।

डेभिड मिलरले सर्वाधिक ४३ रन बनाए भने केशव महाराजले ४० रन बनाए । गेराल्ड कोट्जीले २२ रन बनाए । क्‍विन्टन डिककले २० रन बनाउँदा कप्तान टेम्बा बभुमाले १६ रन बनाए ।

नेदरल्यान्ड्सका लोगान भान बिकले ८.५ ओभरमा ६० रन दिएर ३ विकेट लिए । रोलफ भान डेर मर्वेले ९ ओभरमा ३४ रन दिएर २ विकेट लिए । पल भान मिकेरेनले ९ ओभरमा ४० रन दिएर २ विकेट लिए । बास डे लिडेले ८ ओभरमा ३६ रन दिएर २ विकेट लिए । कोलिन एकरम्यानले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेदरल्यान्ड्सले निर्धारित ४३ ओभरमा ८ विकेट गुमाएर २४५ रन बनाएको थियो । कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ७८ रन बनाए भने रोलफ भान डेर मर्वेले २९ तथा आर्यन दत्तले २३ रन बनाए ।

दक्षिण अफ्रिकाका लुङ्गी एङ्गिडी, मार्को यान्सेन र कगिसो रबाडाले २-२ विकेट लिँदा गेराल्ड कोट्जी र केशव महाराजले १-१ विकेट लिएका थिए ।

यस विश्‍वकपमा अपराजित रहेको दक्षिण अफ्रिकाको यो पहिलो हार हो । नेदरल्यान्ड्सको भने यो पहिलो जित हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय