इङ्लिस र मार्शको अर्धशतकमा अस्ट्रेलियाको पहिलो जीत

काठमाडौं, २९ असोज । भारतमा जारी आइसिसी विश्‍वकप क्रिकेट अन्तर्गत सोमबार भएको खेलमा अस्ट्रेलिया विजयी भएको छ । विश्‍वकपमा पहिलो जीत हासिल गर्ने क्रममा अस्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराएको हो ।

श्रीलंकाले दिएको २१० रनको मध्यम लक्ष्य अस्ट्रेलियाले ३५.२ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो । अस्ट्रेलियाका लागि जोश इङ्लिसले सर्वाधिक ५८ रन बनाए । त्यसअघि ओपनर मिचेल मार्शले ५२ रन बनाएर रनआउट भएका थिए । मार्नस लबुशेनले ४० रन बनाए । ग्लेन म्याक्सवेल ३१ तथा मार्कस स्टोइनिस २० रनमा अविजित रहे ।

श्रीलंकाका दिल्शान मदुशन्का बाहेक अन्य बलरले दबाब बनाउनै सकेनन् । मदुशन्काले ९ ओभरमा ३८ रन दिएर ३ विकेट लिए । दुनिथ वेलालगेले ९.१ ओभरमा ४३ रन दिएर १ विकेट लिए ।

त्यसअघि लखनउस्थित एकना रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ४३.३ ओभरमा अलआउट हुँदै २०९ रन बनाएको थियो । ओपनर कुशल परेराले ७८ तथा पथुम निसान्काले ६१ रन बनाए । चरिथ असलन्काले २५ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउनै सकेनन् ।

शानदार सुरुवात गरेको भएपनि श्रीलंकाको ब्याटिङ धर्मराउँदा निरन्तर विकेट गुमाएको थियो । कुनै समय १२५-० को बलियो अवस्थामा रहेको श्रीलंकाले त्यसपछि बनाएको ८४ रनमा सबै १० विकेट गुमायो ।

अस्ट्रेलियाका एडम जाम्पाले ८ ओभरमा ४७ रन दिएर ४ विकेट लिए । मिचेल स्टार्कले १० ओभरमा ४३ रन दिएर २ विकेट लिए । कप्तान प्याट कमिन्सले ७ ओभरमा ३२ रन दिएर २ विकेट लिए । ग्लेन म्याक्सवेलले ९.३ ओभरमा ३६ रन दिएर १ विकेट लिए ।

जारी विश्‍वकपमा अस्ट्रेलियाको यो पहिलो जीत हो । श्रीलंकाको भने लगातार तेस्रो हार हो ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय