
आर्थिक संकटले चाडपर्वको रौनक हरायो
काठमाडौं, २७ असोज । दशैं–तिहार नजिकिएसँगै संघीय राजधानी काठमाडौ लगायत देशका मुख्य शहर र गाउँसम्मका बजारमा आर्थिक मन्दिको असर देखिएको छ ।


लामो समय अगाडीदेखिको मन्दीले यो समयमा झन् बढी असर पारेको छ । व्यापारीहरु ग्राहक पर्खेर बसेका छन् । उनीहरु व्यापार घटेको भन्दै चिन्तामा देखिन्छन् । कपडा, भाँडावर्तन, जुत्ता–चप्पल, कस्मेटिक पसलमै ग्राहक आएका छैनन् भन्ने मात्रै गुनासो सुनिन्छ ।

प्रधानमन्त्रीदेखि मन्त्रीहरुले अर्थ व्यवस्था सुधारको बाटोमा गएको भनिरहेको भएपनि नेपाली बजारलाई आर्थिक मन्दिले छोएको कुरा बजारमा स्पष्ट देख्न सकिन्छ । दैनिक उपभोग्य बस्तुको मुल्य बढ्ने र कतिपय अत्यावश्यक बस्तु बजारमा छैन भन्ने हल्लाले उपभोक्ता मर्कामा छन् ।
व्यापारीलाई आर्थिक मन्दीले हैरान पारेको छ भने उपभोक्तालाई महँगी र कालाबजारीले सताएको छ। काठमाडौका मुख्य ब्यापारीक केन्द्रमा सहज पार्किङ व्यवस्थापन नगरिएका कारण ब्यापार घटेको गुनासो समेत ब्यापारीको छ।
दशैं बजारमा काठमाडौ लगायत देशभरका ब्यापारीक शहर सुनसान हुँदा सिमा नजिकका नेपालीको लागि भारतीय बजारले फाइदा उठाएका छन् । यसले एकातिर नेपाली रुपैयाँ भारतीय बजारमा पुगेको छ भने अर्कोतिर नेपाली ब्यापारीलाई ब्यापारको मन्दीले मर्का पारेको छ।
झापाको पानीट्याङ्की,बिराटनगर,जलेश्वर,बिरगंज,सुनौली,रुपेडिया लगायत सीमा नाका खुला गरिएपछि सीमावर्ती बजारमा नेपाली उपभोक्ताहरूको भीड लागेको देखिन्छ । भारतीय व्यापारीलाई नेपाली चाडपर्व लागेको छ । उता भरिभराउ हुँदा यता सुनसान भएको गुनासो मात्रै छ। चिनी, मसला, भाँडाकुँडा, लत्ताकपडा, फलफूल र फेन्सी सामानहरू नेपाली बजारमा भन्दा १५ देखि २५ प्रति सस्तोमा भारतिय बजारमा पाइने भएकाले ग्राहकहरूले खाद्यान्नसँगै यस्ता वस्तुहरू उतै खरिद गर्ने गरेका छन् ।
तर,काठमाडौ,पोखरा लगायत शहरमा भने उपभोक्ता र व्यापारी दुवैले हैरानी खेप्नुपरेको छ। व्यापार नहुँदा व्यापारी चिन्तित छन् भने सामानको मुल्यवृद्धि र कृत्रिम अभावले उपभोक्ता चिन्तामा छन् ।
सरकारी नीतिका कारण पनि ब्यापारीलाई समस्या देखिएको र स्वदेशी बजारको प्रवर्द्धन समेत हुन नसकेको व्यापारीहरुको बुझाई छ । खाद्यन्नसहितका दैनिक उपभोग्य वस्तुको आयातमा भन्सार छुट र घरभाडा समायोजन तथा सुलभ र व्यवस्थित पार्किङको सुविधा दिनुपर्ने उनीहरुको सुझाव छ ।
Comments

