
विश्वकपमा अस्ट्रेलियाको लगातार दोस्रो हार, दक्षिण अफ्रिकाको फराकिलो जीत
काठमाडौं, २५ असोज । भारतमा जारी आइसिसी विश्वकप क्रिकेटमा पाँचपटकको विजेता अस्ट्रेलियाले लगातार दोस्रो हार व्यहोरेको छ । बिहिबार भएको खेलमा अस्ट्रेलियालाई दक्षिण अफ्रिकाले १३४ रनको फराकिलो अन्तरले हरायो ।


दक्षिण अफ्रिकाले दिएको ३१२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४०.५ ओभरमा १७७ रनमा अलआउट भयो । मार्नस लबुशेनले सर्वाधिक ४६ रन बनाए । त्यस्तै मिचेल स्टार्कले २७ रन बनाए । दक्षिण अफ्रिकाका कगिसो रबाडाले ३ विकेट लिँदा मार्को जान्सेन, केशव महाराज र तब्रेज शाम्शीले २-२ तथा लुङ्गी एङ्गिडीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३११ रन बनाएको थियो । क्विन्टन डिककले विश्वकपको लगातार दोस्रो शतक प्रहार गरे । उनले १०९ रन बनाए । त्यस्तै एइडेन मार्क्रमले ५६ रन बनाए । अस्ट्रेलियाका मिचेल स्टार्क र ग्लेन म्याक्सवेलले २-२ विकेट लिँदा जोश हेजलवूड प्याट कमिन्स र एडम जाम्पाले १-१ विकेट हात पारे ।
योसँगै लगातार दोस्रो जीत निकालेको दक्षिण अफ्रिकाले ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ भने लगातार दोस्रो हार व्यहोरेको अस्ट्रेलिया अंकविहिन रहँदै नवौं स्थानमा छ ।
Comments

