अन्जनको गोलमा नेपाल हारबाट जोगियो

काठमाडौं, २५ असोज । फिफा विश्वकप २०२६ को छनौट अन्तर्गत पहिलो खेलको पहिलो लेगमा नेपाल र लाओसले बराबरी खेलेका छन् । नेपाल र लाओसले १-१ गोलको बराबरी खेलेका हुन् ।

लाओसका लागि कप्तान बोनफाचन बोकोङले गोल गरेका थिए भने नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए । पहिलो हाफको ३३औं मिनेटमा बोकोङले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए । सेन्टर भागबाट आएको बललाई सदुपयोग गर्दै उनले तीनजनालाई छल्याएर प्रहार गरेको बल बारमा लागेर गोल भएको थियो ।

खेलको पहिलो हाफमा फितलो प्रदर्शन गरे पनि नेपालले दोस्रो हाफमा सुधार गर्दै गोल‌ फर्कायो । ४९औं मिनेटमा कर्नरबाट आएको बललाई अन्जनले हेडरमार्फत गोल गर्दै खेल बराबरीमा ल्याए । राष्ट्रिय टोलीका लागि यो उनको १३औं गोल हो । उनले हरि खड्का र निराजन रायमाझीको कीर्तिमान बराबरी गरे ।

खेलको ५७औ मिनेटमा विपक्षी कप्तान एवम् पहिलो गोलकर्ता बोकोङ घाइते हुँदै मैदान छाडेका थिए । ६२औं मिनेटमा प्राप्त अवसरमा नेपालले गरेको हेडर गोलरक्षकले बचाए । ८२औं मिनेटमा अन्जनले गरेको हेडर पुन: गोलरक्षकले विफल पारे ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय