रोहितको कीर्तिमानी शतकमा भारतको शानदार जीत

काठमाडौं, २४ असोज । आइसिसी एकदिवसीय क्रिकेट विश्‍वकप अन्तर्गत बुधबार भएको खेलमा घरेलु टोली भारतले जीत हासिल गरेको छ । प्रतियोगिताको दोस्रो जीत हासिल गर्ने क्रममा भारतले अफगानिस्तानलाई ८ विकेटले हराएको हो ।

अफगानिस्तानले दिएको २७३ रनको लक्ष्य भारतले ३५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । भारतका लागि कप्तान रोहित शर्माले विस्फोटक ब्याटिङ गर्दै १३१ रनको योगदान दिए । ८४ बल खेलेका उनले १६ चौका र ५ छक्का प्रहार गरेका थिए । त्यस्तै विराट कोहली रनमा ५५ अविजित रहे भने इशान किशनले ४७ रन बनाए । रोहित र किशन मिलेर पहिलो विकेटका लागि १५६ रनको साझेदारी गरेका थिए ।

रोहितले भारतका लागि विश्‍वकपमा सबैभन्दा छिटो शतक प्रहार गर्ने रेकर्ड बनाउँदा विश्‍वकपमा भारतका लागि सर्वाधिक शतक प्रहार गर्ने रेकर्ड पनि तोडेका छन् । सचिन तेन्दुलकरको ६ शतकको रेकर्ड तोड्दै उनले सातौं शतक प्रहार गरे ।

त्यसैगरी विश्‍व क्रिकेटमा सबैभन्दा बढी छक्का प्रहार गर्ने रेकर्ड पनि उनले तोडेका छन् । क्रिस गेलको ५५३ छक्काको रेकर्ड तोड्दै उनले कूल छक्का ५५७ पुर्‍याएका छन् । त्यस्तै सबैभन्दा छिटो १००० रन पूरा गर्ने कीर्तिमान बराबरी गरेका छन् ।

अफगानिस्तानका लागि दुवै विकेट राशिद खानले लिए । सुरुवातदेखि नै रोहितको आक्रमणमा परेका अन्य बलरहरुले विकेट निकाल्नै सकेनन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको अफगानिस्तानले भारतलाई २७३ रनको लक्ष्य दिएको छ । अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७२ रन बनायो ।

अफगानिस्तानका लागि कप्तान हस्मतुल्लाह शाहिदीले सर्वाधिक ८० रन बनाए भने अजमतुल्लाह ओमरजाइले ६२ रन बनाए ।

भारतका जसप्रीत बुमराहले १० ओभरमा ३९ रन खर्चेर ४ विकेट लिए भने हार्दिक पान्ड्याले २ तथा शार्दुल ठाकुर र कूलदीप यादवले १-१ विकेट लिए ।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय