लाओसविरुद्ध घरेलु दर्शकको साथले उत्कृष्ट खेल पस्कन्छौं: कप्तान किरण
काठमाडौं, २४ असोज । फिफा विश्वकप २०२६ को छनौटअन्तर्गत पहिलो चरणको खेलमा नेपालले भोलि लाओसविरुद्ध खेल्दै छ । नेपाल र लाओसबीचको खेल भोलि साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

यस खेलका लागि नेपाली टिम पूर्ण रूपमा तयार रहेको प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेस र कप्तान किरण चेम्जोङले बताएका छन् । खेलको अघिल्लो दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अल्बर्टोले यो खेल आफ्ना लागि अवसर भएको बताए । उनले अघि भने, ‘यो मेरो पनि पहिलो विश्वकप छनोट हो । मैले आफ्नो तर्फबाट शत प्रतिशत दिने प्रयास गरेको छु । आशा छ घरेलु दर्शकको पनि भोलि उत्कृष्ट साथ रहनेछ ।’

त्यसैगरी कप्तान किरणले यसपटकको प्रशिक्षण अहिलेसम्मकै सबैभन्दा लामो रहेको बताउँदै उत्कृष्ट खेल पस्कने प्रतिबद्धता जनाए । लाओसको टिममा पनि केही परिवर्तन भएको र विश्वकप छनौटका लागि राम्रो तयारी गरेकाले पहिलेजस्तो अवस्था नहुने बताए ।
त्यस्तै किरणले भोलिको खेललाई भव्य बनाउन दर्शकहरुलाई आग्रह समेत गरेका छन् । घरेलु दर्शकबाट भरपुर साथको आग्रह गर्दै उनले रङ्गशाला भरिने गरेर उपस्स्थित भई हौसला बढाइदिन आग्रह गरे । ‘भोलि नेपालको सबैभन्दा ठुलो झण्डा देख्न पाइयोस्, सबै मिलेर राष्ट्रिय गान तथा रातो र चन्द्रसूर्य गाऔं’, उनले भनेका छन् ।