
जनयुद्धका सर्वोच्च कमान्डर प्रधानमन्त्री हुँदा घाइते र अपाङ्गको सडकमै रुवाबासी
काठमाडौं, २४ असोज । तत्कालीन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ देखि सुरु गरेको जनयुद्धका घाइते र अपाङ्ग लडाकुले अब पार्टीको नाममा ‘आत्मदाह’ गर्नुपर्ने अवस्था आएको बताएका छन् ।


जनयुद्धका सर्वोच्च कमाण्डरसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न एक सातादेखि सिंहदरबार धाइरहेका पुर्व लडाकुले यस्तो बताएका हुन् ।

हिजो आफ्नै कमान्डर रहेका प्रधानमन्त्रीलाई भेट्न नपाएपछि उनीहरुले ‘जनयुद्ध लड्ने लडाकुलाई सडकमा छाडेर नेताहरू महलमा बसेको’ भन्दै आक्रोश समेत पोखेका छन् ।
प्रचण्डकै निर्देशनमा तत्कालीन राज्यसत्ताविरूद्ध लडाइँ लड्दा हजारौं मारिएका छन् भने सयौं घाइते तथा अपाङ्ग र वेपत्ता भएका छन् । तिनैमध्येका पश्चिम रुकुमकी ‘साकार’ अर्थात् प्रेक्षा उखेरा, सुर्खेतका चेतन सिग्देल र अछामका धिरेन्द्र भण्डारी एक सातादेखि काठमाडौको सडकमा भौतारिइरहेका छन् ।
उनीहरुको सात बुँदे मागपत्र झोलामा छ। प्रधानमन्त्री तथा मन्त्रीका कार्यालयमा गएर त्यो मागपत्र बुझाउन पाएका छैनन् । उनीहरुसँगै युद्ध लडेका साथीहरू विभागीय मन्त्री छन् भने सर्बोच्च कमान्डर देशको प्रधानमन्त्री छन् । तर,उनीहरुले भेट्न पाएका छैनन् । मन्त्रालयका सचिवबाट आश्वासन मात्रै पाउछन् ।
जनयुद्ध तथा जनआन्दोलनका घाइते तथा अपाङ्ग संघर्ष समितिका प्रवक्तासमेत रहेका धिरेन्द्र भण्डारी भन्छन्- ‘अब हामीलाई आश्वासन होइन हाम्रो माग सुनेर सम्बोधन हुनुपर्छ ।’ जनयुद्धका घाइते तथा अपाङ्ग परिवारका दीर्घकालीन समस्या समाधानका लागि सरकारले नै ठोस निर्णय लिनुपर्ने भन्दै उनीहरुले आफ्ना मागको सम्बन्धमा कुरा गर्न गृहमन्त्री, सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्मासँग पटक पटक प्रयास गर्दासमेत सम्पर्क हुन नसकेको बताए ।
संघर्ष समितिले जनयुद्ध तथा जनआन्दोलनका घाइते अपाङ्गहरूलाई तत्काल उपचार गर्नुपर्ने, कार्यदलले तयार पारेको नाम छुट भएकालाई सूचीकृत गर्नुपर्ने, जीवन जिउनका लागि तत्काल स्रोतको व्यवस्था गर्नुपर्ने, उनीहरूका छोराछोरीलाई निःशुल्क उच्च शिक्षाको व्यवस्था गर्नुपर्ने, घाइते अपाङ्गको मृत्यु भएकालाई सहिद घोषणा गर्नुपर्ने, नक्कली तथा सक्कली घाइते अपाङ्गहरूको छानविन हुनुपर्ने र शान्ति सम्झौतामा भएका फाइलहरूलाई तत्काल सूचीकृत गर्ने व्यवस्था मिलाउनुपर्ने माग राखेको छ ।
माओवादी शान्ति प्रक्रियामा आएपश्चात सो पार्टीबाट प्रचण्ड तीन पटक र डा.बाबुराम भट्टराई एक पटक प्रधानमन्त्री भइसकेका छन् । पूर्वलडाकुका प्रमुख कमाण्डर नन्दकिशोर पासाङ ७ वर्ष उपराष्ट्रपति भए भने जनयुद्धका मुख्य कमाण्डरहरू कृष्ण बहादुर महरा, देव गुरुङ, पम्फा भुषाल, रामबहादुर थापा बादल, वर्षमान पुन, जनार्दन शर्मा, चक्रपाणि खनाल पटक-पटक मन्त्री भएका छन् ।
Comments

