शफिक र रिजवानको उत्कृष्ट शतक र साझेदारीमा पाकिस्तानको किर्तिमानी जीत
विश्वकप इतिहासकै सर्वाधिक सफल रन चेजकाठमाडौं, २३ असोज । भारतमा जारी आइसिसी एकदिवसीय क्रिकेट विश्वकपअन्तर्गत आजको दोस्रो खेलमा पाकिस्तानले शानदार जीत हासिल गरेको छ । पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हराएको हो ।

श्रीलंकाले दिएको ३४५ रनको विशाल लक्ष्य पाकिस्तानले १० बल अगावै ४ विकेटको क्षतिमा पूरा गर्यो । यो विश्वकप इतिहासकै सर्वाधिक सफल रन चेज हो ।

पाकिस्तानका लागि मोहम्मद रिजवान र अब्दुल्लाह शफिकले शतकीय पारी खेले । टोली ३७-२ को कठिन अवस्थामा रहेका बेला यी दुईले तेस्रो विकेटका लागि १७६ रनको साझेदारी गरेका थिए ।
शफिक १०३ बलमा ११३ रन बनाएर आउट भए भने रिजवान १२१ बलमा १३४ रनमा नटआउट रहे । रिजवानले शौद शकीलले ३१ रन बनाए । श्रीलंकाका दिल्शन मदुशन्काले २ तथा महिश थिक्सााना र मथिसा पथिरानाले १-१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले पाकिस्तानलाई ३४५ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो। श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३४४ रन बनायो ।
श्रीलंकाका लागि कुशल मेन्डिसले ७७ बलमा १२२ रनको शतकीय पारी खेले । उनले १४ चौका र ६ छक्का प्रहार गरे । त्यस्तै सदीरा समराविक्रमाले ८९ बलमा १०८ रन बनाए ।
पाकिस्तानका हसन अलीले ४ विकेट लिए भने हारिस राउफले २ विकेट लिँदा शाहिन अफ्रिदी, मोहम्मद नवाज र शादाब खानले १-१ विकेट हात पारे ।
योसँगै दुई खेलमा दुई जीत निकालेको पाकिस्तानले ४ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । श्रीलंकाको भने यो लगातार दोस्रो हार हो ।