
सान्टनरको घातक बलिङ, न्युजिल्यान्डको लगातार दोस्रो जीत
काठमाडौं, २२ असोज । भारतमा जारी एकदिवसीय क्रिकेट विश्वकपमा न्युजिल्यान्डले लगातार दोस्रो जीत हासिल गरेको छ । न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले हराएको हो ।


न्युजिल्यान्डले दिएको ३२३ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४६.३ ओभरमा २२३ रनमा समेटियो नेदरल्यान्ड्सका कलिन एकरम्यानले ६९ रन तथा कप्तान स्कट एडवार्ड्सले ३० रन बनाउनु बाहेक अन्यले उल्लेख्य योगदान गर्न सकेनन् ।न्युजिल्यान्डका मिचेर सान्टनरले १० ओभरमा ५९ रन खर्चिएर ५ विकेट लिए । यो यस विश्वकपको पहिलो ‘फाइफर’ हो । त्यस्तै म्याट हेनरीले ३ तथा रचिन रविन्द्रले १ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२२ रन बनायो । उसका लागि विल योङले ७० रन बनाए भने टम लेथमले ५३ र रचिन रविन्द्रले ५१ रनको योगदान दिए ।
डारेल मिचेलले ४८ रन बनाउँदा मिचेल सान्टनर ३६ रनमा अविजित रहे । नेदरल्यान्ड्सका आर्यन दत्त, पल भान मिकेरन र रोलफ भान डेर मर्वेले २-२ विकेट लिए भने बास डे लिडेको नाममा एक विकेट रह्यो ।
Comments

