झलनाथ खनाल प्रतिष्ठानमा १८ करोड भ्रष्टाचार भएको अख्तियारको ठहर

काठमाडौं, २१ असोज । सर्लाहीको लालबन्दीस्थित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झण्डै १८ करोड रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
प्रतिष्ठानको नाममा सरकारबाट १७ करोड ९८ लाख ३३ हजार रुपैयाँ खर्च भइसक्दासमेत कामको प्रगति शून्य देखिएपछि अख्तियारले मधेश प्रदेशका तत्कालिन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार र सर्लाहीको लालबन्दी नगरपालिकाका पूर्व मेयर मानबहादुर खड्कासहित ६ जनाविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी, सदस्य देवेन्द्र राय र मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला सचिव प्रेमकुमार श्रेष्ठ विरुद्ध पनि अख्तियारले भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
प्रतिष्ठानले विषालु सर्पको टोकाइमा प्रयोग हुने ‘एन्टी स्नेक भेनम’ उत्पादन गर्ने उद्देश्यले लालबन्दी नगरपालिकासँगको सहकार्यमा एन्टि स्नेक भेनम उत्पादन तथा अनुसन्धान केन्द्र सञ्चालन गरेको छ।

