७५४ रनको रेकर्ड बनेको ‘हाइ स्कोरिङ’ खेलमा दक्षिण अफ्रिकाको जीत

काठमाडौं, २० असोज । भारतमा जारी एकदिवसिय विश्वकप क्रिकेट अन्तर्गत शनिबार भएको दोस्रो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हराएको हो ।
दक्षिण अफ्रिकाले दिएको ४२९ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका ४४ ५ ओभरमा ३२६ रनमा समेटियो । उसका लागि चरिथ असलन्काले सर्वाधिक ७९ रन बनाए भने कुशल मेन्डिसले ७६ तथा कप्तान दशुन शनकाले ६८ रन बनाए । अन्यको ब्याटबा७ उल्लेख्य रन नबन्दा श्रीलंका विशाल लक्ष्य भेट्टाउन सकेन । दक्षिण अफ्रिकाका जेराल्ड कोट्जीले ३ विकेट लिए भने कगिसो रबाडा, केशव महाराज र मार्को जान्सेनले २-२ तथा लुङ्गी एङ्गिडीले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले विशाल योगफल खडा गरेको थियो । विश्वकप इतिहासकै उच्च योगफल बनाउने क्रममा दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ४२८ रन बनाएको थियो । दक्षिण अफ्रिकी इनिङ्समा तीन शतक प्रहार भएका थिए ।
ओपनर क्विन्टन डिकक, राशी भान डेर डुसेन र एइडेन मार्क्रमले शतक प्रहार गरेका थिए । भान डेर डुसेनले ११० बलमा १०८ रन बनाउँदा मार्क्रमले ५४ बलमा १०६ तथा डिककले ८४ बलमा १०० रन बनाएका थिए । अन्त्यतिर डेभिड मिलर २१ बलमा ३९ रनमा अविजित रहे ।
श्रीलंकाका दिल्शन मदुशन्काले १० ओभरमा ८६ रन खर्चेर २ विकेट लिए । त्यसैगरी दुनिथ वेलालगेले १० ओभरमा ८१ रन खर्चेर १ विकेट लिए भने कसुन रजिथाले ९० रन खर्चेर १ विकेट लिँदा मथिसा पथिरानाले ९५ रन खर्चेर १ विकेट लिए ।
आजको खेलमा कुल ७५४ रन बन्यो । यो एकदिवसीय विश्वकपमा एकै खेलमा बनेको हालसम्मकै धेरै रन हो ।

