फाइनलमा वर्षा बाधक बन्दा भारतलाई एसियाड क्रिकेटमा स्वर्ण

काठमाडौं, २० असोज । चीनमा जारी १९औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा भारतले स्वर्ण पदक जितेको छ । अफगानिस्तानसँगको फाइनल वर्षाका कारण रद्द भएपछि भारतले उपाधि जितेको हो ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको अफगानिस्तानले १८.२ ओभरमा ५ विकेट गुमाएर ११२ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएपछि खेल पुनः सुचारु हुन सकेन ।
त्यसपछि आइसिसी टी२० अन्तर्राष्ट्रिय वरियताका आधारमा भारत विजयी हुँदै स्वर्ण पदक जितेको हो । भारत टी२०आईमा शीर्ष स्थानमा रहँदा अफगानिस्तान १०औं स्थानमा रहेको छ । योसँगै अफगानिस्तान रजत पदकमा सीमित भयो । बङ्गलादेशले विहान पाकिस्तानलाई हराउँदै कास्य पदक जितेको छ ।
प्रतियोगितामा भारतले नेपाललाई क्वाटरफाइनलमा तथा बङ्लादेशलाई सेमिफाइनलमा हराएको थियो । अफगानिस्तानले क्वाटरफाइनलमा श्रीलंका र सेमिफाइनलमा पाकिस्तानलाई हराएको थियो ।
भारतको महिला टोलीले पनि क्रिकेटमा स्वर्ण पदक जितिसकेको छ ।

