उल्टो शिक्षा विधेयकलाई एक वर्ष लगाएर भएपनि सुल्टो बनाउनुपर्छ: गगन

-File Photo

काठमाडौं, १९ असोज । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद गगनकुमार थापाले विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभामा शुक्रवार विद्यालय शिक्षा विधेयक, २०८० विचार गरियोस् भन्ने प्रश्तावमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गरेमात्रै शिक्षा विधेयकले सार्थकता पाउने बताएका हुन्।

उनले वृहत छलफल गरेर उल्टो भएको विधेयकलाई सुल्टो बनाउन जरुरी रहेको बताए। थापाले भने, ‘२१ औं शताव्दीको युगमा एआई रोवर्टीक्सको युगमा जानुपर्ने बेलामा विज्ञान, गणितको गहिरो संकट छ। कक्षा १ मा एक सय जना विद्यार्थी भर्ना हुन्छ, १२ कक्षा पुग्दै गर्दा ३० जना विद्यार्थी बाँकी हुन्छ। भन्नुको मतलव विद्यार्थी टिक्दैन। विज्ञान र गणितको सिकाई २८ मात्रै छ । अंग्रेजीको त करिव करिब २५ मात्रै छ। जो विद्यार्थी टिक्छ उसले सिक्दैन। नसिकेको हुनाले बिक्दैन।’

उनले विद्यालयमा पढिरहेको विद्यार्थी पढिसके पछाडि त्रिभुवन विश्वविद्यालयतिर जान्छु भन्ने नभइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर जाने गरेको बताए। थापाले विद्यालय शिक्षा विधेयकलाई टुंगोमा पुर्याउनुपर्ने जिम्मा अब सांसदको हातमा रहेको बताए।

Comments

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय